वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको स्थानीय तह कर्मचारी संघ, नेपाल वीरगञ्ज इकाई समिति मधेश प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पेन डाउन गर्ने घोषणा गरेको छ। यस सम्बन्धमा कर्मचारी संघले प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै २७ गते विभिन्न मागहरू राखेका थिए।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार, स्थानीय तहका कर्मचारीहरू गत वर्षदेखि समयमा तलब नपाउने, सेवा निवृत्त कर्मचारीहरूको उपदान रकम नपाउने, वृति विकासमा अवरोध आउने लगायतका समस्याबाट पीडित छन्। ती समस्याहरूको समाधानको लागि पटक–पटक प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्दा पनि कुनै ठोस समाधान नआएपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
समस्या समाधान गर्न मिति २०८१ भदौ २६ गते कर्मचारी भेलामा निर्णय अनुसार तीन दिनभित्र मागहरू सम्बोधन गरिनुपर्ने अल्टिमेटम राखिएको थियो। संघका अध्यक्ष मुकेश गुप्ताले बुझाएको ज्ञापनपत्रमा यदि माग पूरा नभए अनिश्चितकालिन पेन डाउन गर्ने उल्लेख छ।
ज्ञापन पत्र अनुसार, पेन डाउनको पहिलो चरण आज भदौ ३० गते बिहान १० बजेदेखि १ बजेसम्म ९वारुण यन्त्र, सरसफाई, स्वास्थ्य सेवा बाहेक० लागू हुनेछ। दोस्रो चरणको पेन डाउन भोलि भदौ ३१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म जारी रहनेछ। यदि मागहरू सम्बोधन गरिएन भने असोज १ गतेदेखि सम्पूर्ण सेवा प्रवाह अनिश्चितकालका लागि ठप्प गरिने चेतावनी पनि संघले दिएको छ।
कर्मचारीहरूले माग पूरा नहुँदा मनोबल गिरेको र समस्याहरू थप जटिल बन्दै गएकोले बाध्य भएर आन्दोलनको घोषणा गरिएको कर्मचारी संघले जनाएको छ।