वीरगञ्ज– भाटभटेनी सुपर मार्केट वीरगञ्जमा सञ्चालित २ वटा रेस्टुरेन्टमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका र उपभोक्ता हित मञ्चको संयुक्त टोलीले हिजो भाटभटेनीमा सञ्चालित ४ वटा रेस्टुरेन्टमा अनुगमन गर्दा म्याद गुज्रेका खाद्यान्न सामाग्री फेला परेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित भाटभटेनी सुपरमार्केटमा सञ्चालित अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिमा म्याद गुज्रेका खाद्यान्न सामग्री भेटिएको महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासले जानकारी दिए ।
दासको नेतृत्वामा गएको अनुगमन टोलीले म्याद गुज्रेका खाद्यान्न बेचेर आम सर्वसाधारणको स्वस्थ्यसँग खेलबाड गर्ने अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५/५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका ती रेस्टुरेन्टमा म्याद गुज्रेका मःमः, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए ।
म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियन नष्ट गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।