वीरगञ्ज : आयातकर्ताले जाँचपास गराई नलग्दा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा लामो समयदेखि तेस्रो मुलुकबाट आयातित ८० सुविधाजनक कार थन्किएका छन् । तीमध्ये आधा विद्युतीय ९ईभी० गाडी हुन् । यसरी थन्किनेमा अधिकांश चीनमा निर्मित कार रहेका छन् ।
बन्दरगाह संचालक कम्पनी प्रिस्टिन भ्यालीको तथ्यांक अनुसार ८० मध्ये १२ कार ईभी नेपाल मोटर्स र त्यत्ति नै संख्यामा गो अटोमोबाइल्स प्रालिका हुन् । त्यसैगरी ११ कार विजय मोटर्स प्रालि र १० कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका हुन् । ७ कार सांग्रिला मोटर्स प्रालि, ६ पारामाउन्टस मोटर्स प्रालि, ४ मास्टर जेनरल अफ ओर्डनेन्सले आयात गरेका हुन् ।
त्यसैगरी, ३र३ दीपक गौतम एन्ड कम्पनी प्रालि, जगदम्बा मोटर्स प्रालि, कुजु नेपाल प्रालि, पायोनियर मोटो क्रम प्रालिले आयात गरेका हुन् । २र२ वटा कार किशोर गियर्स प्रालि र साख एण्ड कम्पनी प्रालिले र १र१ कार हिरोइन ट्रेडिङ प्रालि र भिजी इम्पेक्स प्रालिले आयात गरेका हुन् ।
कुल ८० मध्ये सन् २०१८र१९ मा आयात गरिएका १, २०२० मा आयात गरिएका १, २०२१ मा आयात गरिएका ५, २०२२ मा आयात गरिएका १२, २०२३ मा आयात गरिएका २९ र २०२४ मा आयात गरिएका ३१ कार छन् ।
प्रिस्टिन भ्यालीका लेखा एवं सूचना अधिकृत तारा भण्डारी ८० मध्ये अधिकांश कार चीनबाट आयात गरिएको बताउँछन् । यी कार आयातकर्ताहरू कार बन्दरगाहको यार्डमा पार्किङ भएदेखि लिन नआएको बताउँछन् । ‘आयात गरेर पनि आयातकर्ताले किन जाँचपास गराई लग्दैनन् भनी हामीले पनि ठ्याक्कै भन्न सक्दैनौं, यो भन्सारको पाटो हो,’ उनले भने, ‘हामीले बन्दरगाहको यार्डमा आयातकर्ताले जाँचपास गराई नलगुन्जेलसम्म सुरक्षित रूपमा राखिदिने मात्र हो ।’
हालै वीरगन्ज भन्सार कार्यालयले आयातकर्ताहरूलाई आ–आफ्ना सवारी साधन जाँचपास गराई लग्न भनेको आफूले जानकारी पाएको उनले बताए । प्रिस्टिन भ्यालीले सन् २०२० देखि यो बन्दरगाहको व्यवस्थापनको जिम्मेवारी लिएको र कतिपय कार त्यसअघिदेखि नै बन्दरगाह यार्डमा रहेकाले तिनको जिम्मेवारी पनि लिएको उनले बताए ।
सबै कार कन्टेनरमा राखेर तेस्रो मुलुकबाट ल्याइएका हुन् । बन्दरगाहको यार्डमा आएको दोस्रो दिनपछि यस्ता कारको पार्किङ शुल्क लाग्न थाल्ने भण्डारी बताउँछन् । यस्ता कार बन्दरगाहको यार्डमा पार्किङ गर्दा प्रतिमहिना ६ हजार ६ सय ५५ रुपैयाँ पार्किङ शुल्क लाग्ने गर्छ । यसबाहेक कन्टेनरमै राखेको भए कन्टेनर पार्किङ शुल्क, ह्यान्डलिङ शुल्क, खुला आकाशमुनि राखे त्यसै प्रकृतिको शुल्क लाग्ने गर्छ । आयातकर्ताले प्रायः जाँचपास गराई लग्दा एकमुष्ट रूपमा सम्पूर्ण शुल्क बुझाएर यस्ता सवारी साधन लग्ने गर्छन् ।
नयाँ सवारी साधनको मुख्य बजार संघीय राजधानी काठमाडौं नै रहेको र त्यहाँ ग्राहकले अर्डर गरेपछि प्रायः बिक्रेताले यहाँबाट नयाँ सवारी साधन जाँचपास गराई लग्ने गर्छन् । बन्दरगाह यार्डमा रहेका अधिकांश यस्ता कार अब पुराना मोडेलका भइसकेकाले तिनको माग पनि कम नै हुन्छ ।
भन्सार कार्यालयले यस्ता सवारी लिलामी गर्दा लिलामीबाट प्राप्त रकममध्ये बन्दरगाह व्यवस्थापक कम्पनीलाई १० प्रतिशत कमिसन दिन्छ । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल सामान्यतया भन्सार यार्डमा राखिएका नयाँ सवारी साधन ६० दिनभित्र जाँचपास गराई नलगे लिलामीमा लग्ने कानुनी व्यवस्था रहेको बताउँछन् । ‘हामीले पटक–पटक आयातकर्ताहरूलाई आ–आफ्नो सवारी लग्न मौखिक रूपमा भन्दै आएका छौं,’ उनले भने, ‘यसरी ६० दिनसम्म आफ्ना सवारी लगेकाहरूको विवरण निकालेर सूचना प्रकाशित गर्ने गृहकार्य गरिरहेका छौं ।’ सभार : कान्तिपुर