काठमाडौँ — चाडबाड नजिकिँदै गर्दा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्य वस्तुमा छुट दिन थालेको छ । तर तेल उद्योगीहरूले खाने तेलको मूल्य बढाएर सर्वसाधारणलाई मूल्यवृद्धिको ‘उपहार’ दिएका छन् ।
भारतले पाम, सोयाबिन र सनफ्लावरको कच्चा तेलमा २० प्रतिशत भन्सार दर बढाएपछि नेपाली तेल उद्योगीले मूल्य बढाउन थालेका छन् । भारत निर्यात गर्दा बढी मूल्य पाइने भएपछि उनीहरूले यहाँ स्टक कम देखाएर मूल्य बढाउन थालेका हुन् ।
दुई सातामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले बढेको होलसेल व्यवसायी बताउँछन् । मूल्यमा तत्काल हस्तक्षेप नभए दसैं–तिहारमा तेलको मूल्य थप उच्च हुने व्यवसायीको भनाइ छ । ‘भारतले भन्सार बढाएपछि होलसेल मूल्य प्रतिलिटर ३० रुपैयाँले बढेको छ । कर नबढाउँदा एक कार्टुन ९१० लिटर० सनफ्लावर तेलको मूल्य १८ सय रुपैयाँ थियो । अहिले बढेर २१ सय रुपैयाँ पुगेको छ,’ आस्मा एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक सञ्जयकुमार फुयाँलले भने, ‘सनफ्लावर जस्तै तोरी र सोयाबिन तेलको मूल्य पनि बढेको छ ।’
होलसेल व्यवसायी फुयाँलका अनुसार तेलको ब्रान्डअनुसार तोरी तेलको मूल्य प्रतिलिटर १ सय ८५ रुपैयाँ थियो । अहिले बढेर २ सय ५ रुपैयाँ पुगेको छ । सोयाबिन तेलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ थियो । मूल्य बढेर प्रतिलिटर २ सय १० रुपैयाँ पुगेको छ । ‘भारतमा बढेको कर हेरेर यहाँ अनावश्यक मूल्य बढाइएको छ । कम्पनीसँग तेल किन्न खोज्दा स्टक कम भएको भन्दै केही दिन कुर्नुपर्ने भन्ने गरिएको छ,’ उनले भने, ‘मूल्य अझै कतिसम्म पुग्ने हो, यकिन छैन ।’
भारतले गत भदौ १९ बाट लागू हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमध्यमले जनाएका छन् । नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउने गरेका छन् । सोही सुविधाको फाइदा उठाउँदै उद्योगीले स्वदेशमा भन्दा भारततर्फ बिक्री केन्द्रित गरेका छन् ।
‘भारतले चुनावअघि तेलको भन्सार करिब शून्य जस्तो बनाएको थियो । भन्सार घटाउँदा नेपाली उद्योगले निर्यात गर्न पाएका थिएनन्, कारण भारतमै सस्तो थियो । अहिले भन्सार बढाउँदा त्यहाँ मूल्य बढ्छ । फाइदाका लागि नेपाली उद्योगीले नेपालमा बिक्रीभन्दा भारततर्फ केन्द्रित गरेका छन्,’ एक होलसेल व्यवसायीले भने, ‘निर्यातमा यहाँका उद्योगीले कर छुट पाउँछन् । त्यही भएर यहाँको तेल भारत गएको छ ।’
भारतमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट तेलका लागि कच्चापदार्थ आउँछ । नेपाली उद्योगीले पनि तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्दै आएका छन् । चिनी तथा तेलको होलसेल व्यवसायी ईश्वरी श्रेष्ठले पनि भारतले भन्सार दर बढाउँदा यहाँ मूल्य बढेको जनाए । एक कार्टुनको १ हजार ८ सय ५० रुपैयाँ पर्ने सोयाबिन र सनफ्लावरको मूल्य बढेर २ हजार ५० रुपैयाँसम्म पुगेको उनको भनाइ छ ।
बजारमा खाने तेलको अभाव छैन । तर मूल्य भने बढेको छ । होलसेलमा मूल्य बढेपछि त्यसको असर खुद्रामा पनि स्वतः पर्छ । खुद्रा व्यापारीहरूले पनि सोहीअनुसार मूल्य बढाउन थालेका छन् । नयाँ लटअनुसार मूल्य बढेर आएको खुद्रा व्यापार संघका कोषाध्यक्ष बसन्त श्रेष्ठको दाबी छ । ‘होलसेल व्यवसायीले लिटरमै २० देखि ३० रुपैयाँ मूल्य बढेको बताएका छन् । तर केही लटमा लिटरमै १२ देखि १३ रुपैयाँसम्म बढेर आएको छ । दुईरचार दिनमा थप नयाँ लटको तेल आउँछ,’ उनले भने, ‘अब फेरि बढ्ने सम्भावना छ ।’
कोषाध्यक्ष श्रेष्ठले पनि उद्योगीहरूले तेल भारतमा पठाउन होल्ड गरेर राखेको दाबी गरे । चाडबाड नजिकिँदै गर्दा मूल्य बढाएर उपभोक्तामाथि बेइमानी गरिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । सामाजिक उत्तरदायित्वअन्तर्गत छुट दिएर बेच्नुपर्नेमा उद्योगगीले अचाक्ली मूल्य बढाएको उनीहरूको भनाइ छ । तेलमा ‘कार्टेलिङ’ गरेर मूल्य बढाउन चलखेल भइराखेकाले सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूले जनाए । यसमा संलग्न सबैलाई कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुनुपर्ने उनीहरूले बताए ।
तेलको मूल्यका विषय भारतसँग जोडिएको र तिहारमा मूल्य बढाउन उद्योगीले मौज्दात राखेको सूचना आफूले पाएको बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणको दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको भनाइ छ ।
तेलको मूल्यका विषयमा नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमुद दुगडसँग बुझ्न संघका प्रथम उपाध्यक्ष राम थापाले आग्रह गरे । महासचिव दीपककुमार पौडेलले पनि अध्यक्ष दुगडसँग बुझ्न आग्रह गरे । अध्यक्ष दुगडसँग पटकपटक टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।