पर्सा — ठोरी गाउँपालिकामा एकै साथ बाघ र जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित छन् । चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको यो पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको छ ।
किसानको धान बाली पाक्न थालेपछि हात्ती धान खान आउने गरेको उनले बताए । ‘पालिकाको ५ वटै वडामा २ सातायता निकुन्जहरुबाट आउने हात्तीले आतंक मच्चाएका छन्,’ उनले भने, ‘पछिल्लो केही दिन यता वडा नं २ इच्छानगर र बुद्धनगर तथा वडा नं ३ ब्रम्हानगरमा हात्तिले बढी सताएका छन् ।’
हात्ती ६ देखि ७, ८ देखि १२ र २० देखि २५ वटाको संख्यामा बगालमै आउने गरेको उनले बताए । कुनै हात्ती एक्लै पनि आएर धान बाली नष्ट गर्ने गरेको छ । हात्ती धपाउने परम्परागत तरिकाबाहेक स्थानीयसँग कुनै उपाय नरहेको उनले बताए ।
त्यसैगरी, झण्डै २ महिनादेखि वडा नं १ को इच्छानगर र चौतारा, वडा नं ३ ब्रम्हानगर र वडा नं ५ सुवर्णपुर क्षेत्रमा बाघले आतंक मच्चाएको छ । पालिकाभरि निकुन्जनजिक रहेको मानव बस्तीमा २ देखि ३ वटा बाघ प्रवेश गरेर स्थानीयको चौपाया खाने गरिरहेको छ ।
वडा नं ३ ब्रम्हानगरका सेते गोलेले बुधबार राति १० बजे बाघले आफ्नो खोरबाट एकै साथ २ वटा बाघ खाएको बताए । अन्य स्थानीयको समेत गरी दर्जन बढी खशि बाख्रा यहा मात्रै बाघले खाएको छ ।
स्थानीय रामबहादुर आले मगरले धेरै स्थानीयले हुलाकी सडक खण्डको शिकारीबास पुल छेउछाउ सडकमै सम्साझै बाघ देखेको बताए । बाघले मोटरसाइकल चालक देखि टेम्पो चालक समेतलाई झम्टिने गरेको उनले बताए ।
उक्त पुल आसपासको क्षेत्र चितवन र पर्सा निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भको समेत संगमस्थल रहेको र शिकारीबास खोला वन्यजन्तुको परम्परागत जैविक मार्ग समेत रहेकाले त्यस क्षेत्रमा वन्यजन्तुको आवागमन बढी हुने गरेको छ ।
स्थानीय बासिन्दा तथा शिकारीबास मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव रखेश आले मगरले बाघले कतिपय स्थानीयको बाख्रा खाएर खोरनै रित्तो पारिसकेको बताए । आफूले समितिलाई बाघ आतंक र बाघले गरेको क्षतिको पूर्ति गर्न सूचित समेत गरेको उनले बताए ।