वीरगन्जमा यसपालिपनि नयाँ वर्ष र ईदको अवसर पारेर वीरगन्ज महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको छ । यही चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातिसम्म तीन दिन वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा ‘रात्रि बजार’ लगाउने तयारी महानगरपालिकाले गरेको हो ।
गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन रात्री बजार लगाउन लागिएको ममहानगरका मेयर राजेशमान सिंहले बताए। उनका अनुसार, रात्रि बजारले सुस्ताएको वीरगन्जको अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याउने अपेक्षा छ ।
रात्रि बजारको समयमा भारतीय पर्यटकहरुलाई लक्षित गरि भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाका रातभर खुला रहने पनि मेयर सिंहले बताए। सामान्यतया वीरगन्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस् भनेर रातभर खुला गर्न उनले बताए ।
‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टलहरु राखने मेयर सिंहले जानकारी दिए । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए ।
आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र स्टल बुकिङको काम समेत अघि बढाइएको ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।