जनकपुरधाम । मधेश प्रदेशमा आगामी बडा दशैँ, तिहार तथा छठ पर्वलाई ध्यानमा राख्दै प्रदेश प्रहरीले व्यापक सुरक्षा योजना सार्वजनिक गरेको छ। प्रदेशको शान्ति र सुव्यवस्थालाई कायम राख्न, मधेश प्रदेश प्रहरी कार्यालयले असोज १५ गतेदेखि कार्तिक २५ गतेसम्म विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ।
प्रदेशभरि चाडपर्वको बेला शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने विभिन्न सम्भावित अपराधहरूको वर्गीकरण गरी योजना बनाइएको छ। चाडपर्वको समयमा हुने चोरी, तस्करी, मठ–मन्दिरमा भिडभाड, सवारीसाधनको चाप, कालोबजारी, जुवा तथा तास खेल, मूर्ति विसर्जनको सुरक्षा, पकेटमारी र चेन स्न्याचिङ जस्ता अपराधहरूलाई मध्यनजर राखेर विशेष रणनीति तयार पारिएको हो।
प्रहरीले बैंक तथा वित्तीय संस्थाहरूमा हुन सक्ने चोरी तथा भिडभाड नियन्त्रणका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। मेलाहरूमा हुने सम्भावित अपराध र सांस्कृतिक सुरक्षालाई पनि योजनामा प्राथमिकता दिइएको छ। पटाका तथा आतिशबाजीको प्रयोग, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई पनि नियन्त्रित गर्ने विशेष योजना बनाइएको छ।
यस विशेष सुरक्षा अभियान अन्तर्गत, प्रदेशका सबै जिल्लामा १ हजार ४ सय ५० भन्दा बढी प्रहरी टोली परिचालन गरिएको छ। यसले मधेश प्रदेशलाई भयरहित वातावरणमा चाडपर्व मनाउन सघाउने विश्वास लिइएको छ।
प्रहरीको यस सुरक्षा योजना प्रदेशभरि असोज १५ देखि कार्तिक २५ सम्म लागू रहने जानकारी दिइएको छ।