झापा–बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना समर्थकहरूमाथि कर्तव्य ज्यानको मुद्दामा कानुनी कारवाही अगाडि बढाइएको छ।
उनीहरूले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडी बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडी बढाइएको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौंमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले असोज ६ गते राति १०.३० बजे कनकाई नगरपालिका वडा नं.८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको भारतीय ट्रक र सोही रातिको बिहान २।३० बजे बिर्तामोड नगरपालिका वडा नं.६ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए।
मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर ९पेट्रोल बम० ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए।
ट्रक चालक कुमार महतो घाइते भइ भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए।
रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
पक्राउ परी ज्यान मुद्दामा पर्नेहरूमा हल्दिबारी–१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र अभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड–७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवस लिम्बू, बुद्धशान्त–४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर–६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी–१ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड–३ बस्ने ३५ वर्षीय उदय लिम्बू रहेका छन्।
भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरूले आइतवार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए।
भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो। प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ।