काठमाडौँ — मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ ।
मेलम्ची खोलालाई सुरुङको मुखबाट पानी भित्र पठाउन ढुंगा र बालुवा पन्छाउने काम भइरहेको प्राविधिकहरूले जानकारी दिउका छन् । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार राति बाढीप्रभावित हेलम्बुवासीको समस्या हल गर्ने सहमति गरेपछि सुरुङमा पानी प्रवेश गराउन लागिएको हो ।
स्थानीयसँग राति अबेरसम्म पानी पठाउने सहमति गरेर मन्त्री यादव मंगलबार बिहान काठमाडौं फर्किएका छन् । २०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो ।
समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो ।
त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए ।
बागमतीको पानीको ‘कनेक्सन’ टुटाएर मेलम्चीको पानी जोड्ने तयारी छ । लामिछानेले भने, ‘बेलुकासम्म काठमाडौंको वितरण प्रणालीमा पानी पठाउँछौं ।’
२०७८ सालको बाढीबाट क्षतिग्रस्त मेलम्ची मुहान क्षेत्रकाबासिन्दाले पुनर्स्थापना, पुनर्निर्माण र पानीको लेबी सम्बन्धी माग राखेर आन्दोलन गर्दै आएका थिए । उनीहरूले माग सम्बोधनको सुनिश्चत नभई पानी लैजान नदिने अडान राखेको कारण समस्या भएको थियो । मन्त्री यादव आफै मुहानका बासिन्दासँग वार्ता गर्न हेलम्बु गएका थिए ।