वीरगन्ज– चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो ।
गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० प्रतिशत र गत साउन महिनामा ७९.२८ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो ।
भन्सार विभागले गत असोज महिनाका लागि ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत अर्थात् ४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
यस्तै गत भदौमा ५ अर्ब २४ करोड ४४८ लाखको लक्ष्य पाएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८८.५० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । त्योभन्दा अघिल्लो महिना साउनमा भने ड्राइपोर्ट भन्सारले ४ अर्ब ७३ करोड ३१ लखको लक्ष्य पाएकोमा लक्ष्यको ७९.२८ प्रतिशतमात्रै अर्थात ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए ।
ड्राइपोर्ट भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को असोजमा लक्ष्यको ७४ प्रतिशत,भदौंमा ८५ प्रतिशत र साउनमा ९६ प्रतिशत राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन,भदौं र असोज० मा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८६ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको उनले बताए ।
चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिनादेखि राजश्व संकलनमा लगातार सुधार आएको बरुवालले बताए । साउनको भन्दा भदौमा र भदौको भन्दा असोज महिनामा राजश्व संकलनको प्रतिशत क्रमिक रुपमा बढ्दै गएको उनले बताए ।
दशैं, तिहार र छठ पर्व जस्ता मुख्य चाडपर्वमा सामान आयातको परिमाणमा वृद्धि आएसँगै त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको उनले बताए । दशैं सकिए पनि अझै तिहार, छठ जस्ता पर्व बाँकी नै रहेकाले कात्तिक महिनामा पनि राजश्व संकलन अझ बढ्ने सम्भावना रहेको उनले बताए ।