कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन । प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब नपाएको हो । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुशवाहा र लेखापाल रामबालक यादवको जुहारीले दशैं, दिपावली, छठ पर्वको मुखमा दैनिक ज्यालादारीमा रहेका स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैन् ।
प्रादेशिक अस्पताल कलैयमा दैनिक ज्यालादारीमा ४०, निक साइम्नस संस्थाको तर्फबाट डाक्टर २, स्टाफ नर्स १, एनेस्थेसिया १, बायोमेडिकल १ गरि ५ जनाले, अस्पताल विकास समितिको तर्फबाट २५ जना स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन ।
सबको घरमा दशैंको रौनकले छाएको आफुहरू २४ घण्टा ड्युटी गरेर पनि दशैंमा आफ्नो छोराछोरीको सामुन्ने रितो हात घर जादा मन आत्मग्लानि हुने गरेको एक जना स्वास्थ्यकर्मीले जानकारी गराएका छन् ।
अस्पतालको सबै फोहर उठाएर दैनिक सफासुग्घर गर्दै आएको सफाइकर्मीले आफ्नो गुनासो काहा पोख्ने कसैले सुनिदिने नरहेको बताउछन् । दशैंको मुखमा नया कपडा त परै जाओस श्रावण महिना देखि उधारो किनेर जिविका चलाएको उनीहरू बताउछन । दशैंमा तलब आए दिउला भनेर आश्वासन दिदै आएको, तलब त पाएनन अब साहुले पनि उधारो नदिदा के खाने कसरी बाच्ने भनेर चिन्ताले सताएको स्वास्थ्यकर्मीले रुदै सुनाए ।
यता अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाइले मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको बदमासीले स्वास्थ्यकर्मीले तलब नपाएको बताए । दशैंको दुइ दिने अगाडी नै दुबै निस्किदा तलब खुवाउन नसकेको बताए । कर्मचारीतन्त्रले आफु अध्यक्ष भए पनि निरीह सरह भएको उनले सुनाए । कर्मचारीहरूको मनोपोलीले गर्दा खाता समेत संचालन हुन सकेको छैन । हालको मेसु यो भन्दा अगाडी पनि बसिसकेकोले पहिलाको कार्यकाल जस्तो गर्ने नदिएकोले तलब नखुवाई मेसु दशैंमा घर गएको आरोप लगाए ।
अस्पताल श्रोतका अनुसार स्वस्थकर्मीलाई तलव खुवाउन तयारी भए पनि अस्पतालका सुव्वा प्रेम कुमार पंडित र सहायक स्टोर किपर मनोज यादवले कमिसनको लोभमा मेसु र लेखापालको मिलोमतोमा स्वास्थ्यकर्मीको तलब रोकी अन्य शिर्षकमा रकम निकासा गरेको बताउछन । कमिशनको लोभमा समाग्री खरिद गरिन्छ तर चाडै प्रयोग विहिन बनाई पुन खरिद प्रक्रियामा जाने गरेका छन् । पंडित र यादवले नै गर्दा अस्पताल लथालिङ्ग अवस्थामा रहेको जानकारी दिएका छन् ।