वीरगञ्ज । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा चढाइएको भेटी गणना सुरु भएको छ । महागढीमाई नगरपालिकास्थित मन्दिर परिसरमा रहेका चार वटा दान पेटिकामध्ये सोमबार मुख्य मन्दिरमा राखिएको एउटा दान पेटिका खोलिएको छ ।
घटनास्थापनादेखि कात्तिक ११ गतेसम्म सङ्कलित भेटी गनिँदा तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ सङ्कलन भएको छ महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए ।
दान पेटिकाबाट नगद भेटीका साथै नेपाली र विदेशी मुद्रा र चाँदीबाट बनेका गढीमाई देवीका पाँच जोडी आँखा पनि भेटिएका छन् । मेयर यादवका अनुसार गणना सोमबार गढीमाई विकास समितिका पदाधिकारीहरूको रोहबरमा सम्पन्न गरिएको हो ।
मेयर यादवले अन्य तीन दान पेटिकाको गणना मङ्गलवार गरिने जानकारी दिए । “मुख्य मन्दिरमा राखिएको दान पेटिकाको भेटी गनी सकेका छौँ । अन्य पेटिकामा भेटी धेरै नहुन सक्छ, सम्भवतः भोलिसम्म सबै काम पूरा हुन्छ,” उनले भने ।
गढीमाई मन्दिरमा दसैँ र तिहारको बिचमा भक्तजनहरूको भीड लाग्ने भएकाले ठूलो सङ्ख्यामा भेटी सङ्कलन हुने अनुमान गरिएको थियो । गढीमाईको मेला र विशेष पर्वहरूमा देश विदेशबाट श्रद्धालुहरूको उपस्थिति रहँदै आएको छ, जसले भेटीमा विविधता थपेको देखिन्छ ।
मेयर यादवका अनुसार दान पेटिकाबाट सङ्कलित सम्पूर्ण भेटी गढीमाई विकास समितिको कोषमा जम्मा हुनेछ । यस रकमलाई मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका काममा खर्च गरिने योजना बनाइएको छ ।
गढीमाई मन्दिरले वर्षभर धार्मिक कार्यक्रमहरू आयोजना गर्नुका साथै विभिन्न अवसरमा दर्शनार्थीहरूलाई सेवा प्रदान गर्दै आएको छ । विशेष गरी गढीमाई मेला, जसमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्, मन्दिरका लागि मुख्य आर्थिक स्रोतका रूपमा रहने गरेको छ ।