काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन्। साविक विजेतासमेत रहेको बंगलादेशसँगको बुधबार हुने फाइनल अघि आयोजना गरिएको प्रिम्याच कन्फरेन्समा बोल्दै एन्जिलाले यस पटक उपाधि घर बाहिर जान नदिने अभियानसहित मैदान उत्रिने बताएकी हुन्। ‘हामीले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेका छैनौं। विगतमा पटक पटक भारत तगारो बन्दै आएकोमा गत संस्करणमा बंगलादेशसँग पराजित भएका थियौं’, एन्जिलाले भनिन्, ‘यस पटक जसरी पनि उपाधि घरमै राख्ने अभियानसहित मैदान उत्रिने छौं।’
उनले बुधबार हुने फाइनल खेल पनि जित्न नसकेमा नेपालले उपाधिका लागि अझै ८–१० वर्ष कुर्नुपर्ने बताइन्। ‘अहिले हामीलाई सुवर्ण अवसर छ। हामी लयमा छौं। यस पटक पनि उपाधि जित्न सकेनौं भने अझै ८–१० वर्ष पर्खनु पर्ने हुन्छ’, कप्तान एन्जिलाले भनिन्, ‘त्यसैले जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं। हामीले पाँच पटक उपविजेतामा चित्त बुझायौं। यस पटक भने उपाधि घरमै राख्छौं।’
यसैगरी नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फाइनलमा विगतका गल्ती नदोहोर्याउँदै उपाधि जित्ने बताए। ‘पाँच पटक फाइनल खेले पनि अहिलेसम्म हामीले उपाधि जित्न सकेका छैनौं। त्यसैले यस पटक जसरी पनि उपाधि जित्ने अभियान बनाएका छौं। खेलाडीमा पनि आत्मविश्वास भरिएको छ’, मुख्य प्रशिक्षक तामाङले भने, ‘यसका लागि विगतमा गरेका गल्ती दोहोर्याउनु हुँदैन। उनले बंगलादेश बलियो टोली भए पनि फाइनलका लागि आफूहरू पनि तयार रहेको बताए। ‘बंगलादेश बलियो टोली हो। तर, हामीलाई बंगलादेशको खेल्ने शैली राम्रोसँग थाहा छ। त्यही अनुरुप रणनीति बनाउँछौं। घरेलु समर्थकको साथ पनि रहने भएकाले उपाधि जित्नैका लागि खेल्छौं’ प्रशिक्षक तामाङले भने।
बंगलादेशका प्रशिक्षक पिटर बटलरले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए। ‘हामी साविक विजेता हौं। त्यसैले सबैभन्दा ठूलो चुनौती हामीलाई छ। त्यसैले फाइनल खेल रोचक र रोमाञ्चक हुनेछ’, प्रशिक्षक पिटरले भने, ‘हामी राम्रो फुटबल खेल्छौं। विपक्षीलाई पनि सम्मान गछौं।’ यसैगरी कप्तान सविना खातुनले पछिल्लो समय बंगलादेशको टिम बलियो रहेको र प्रदर्शनमा पनि सुधार आए पनि फाइनलमा गाह्रो हुने बताइन्। ‘नेपाल निकै बलियो प्रतिद्वन्द्वी हो। अघिल्लो संस्करणभन्दा यस पटक नेपालको खेल निकै उत्कृष्ट छ। त्यसैले नेपालसँग फाइनल खेल्न हामीलाई सजिलो छैन’, उनले भनिन्, ‘हाम्रा युवा खेलाडीले पनि राम्रो खेलिरहेका छन्। समग्र टिम नै उच्च लयमा छ। त्यसैले हाम्रो सम्पूर्ण ध्यान उपाधिमै हुनेछ।’
सातौं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। सेमिफाइनलमा नेपालले भारत र बंगलादेशले भुटानलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका हुन्। निकै विवादित बनेको खेलमा घरेलु टोली नेपालले पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दा बंगलादेशले भने भुटानलाई ७–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएका थिए।
नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको उपाधिका लागि दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। नेपालमै भएको अघिल्लो संस्करणमा घरेलु टोलीलाई ३–१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको थियो।