पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज जिल्लाका सञ्चारकर्मीहरूसँग भेटघाट गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विषयमा धारणा व्यक्त गरे । सिडिओ अर्यालले पत्रकारिता क्षेत्रको महत्त्वलाई उदाहरणसहित स्पष्ट पार्दै अमेरिकी वाटरगेट काण्डको प्रसङ्ग उल्लेख गर्दै भने, “पत्रकारिता सत्य, पारदर्शिता, र जनताको आवाजको संरक्षण गर्ने साधन हो । पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सबै पक्षको विचारलाई ध्यानमा राख्दै, सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षासहित समाजमा सकारात्मक ऊर्जा प्रवाहित गर्नुपर्छ ।” अर्यालले सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै पर्सामा प्रशासनको भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले आफ्नो कार्यकालको उद्देश्य समाजमा सुधार र अनुकरणीय कार्य प्रस्तुत गर्ने रहेको भन्दै भने, “मिडियासँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छु । आउँदा खेरी स्वागत नगर्नुस् म काम गरेर देखाउने व्यक्ति हुँ, दमदार काम गरेको छु भने जाँदा भव्य तरिकाले बिदाइ गर्नुहोला ।”
आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा उनले जिल्लामा प्रभावकारी र उत्कृष्ट कार्यसम्पादनको योजना पनि सुनाए । उनले यसअघि अन्य जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुखका रूपमा कार्यसम्पादनमा उत्कृष्टता पुर्याएको भन्दै यस पटक पनि पर्सा जिल्लाका जनताका लागि उदाहरणीय काम गर्ने अठोट दोहोर्याए ।
कार्यक्रममा सहभागी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पनि पत्रकारिताको महत्त्वलाई समर्थन गर्दै प्रहरी प्रशासनको पारदर्शिताबारे धारणा राखे । उनले भने, “जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले कुनै बिचौलियाको आवश्यकता पर्दैन । यहाँ सबै सेवा निःशुल्क उपलब्ध छ ।”
एसपी ढुङ्गेलले पर्सा जिल्लामा प्रभावकारी प्रहरी सेवा प्रदान गर्दै बिचौलियाहरूलाई निरुत्साहित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे । साथै, ढुङ्गेलले कुनै प्रकारको अनावश्यक शुल्क वा खर्च नलाग्ने भएकाले स्थानीयहरूले निःसङ्कोच प्रहरी सेवाहरूको उपयोग गर्न सक्ने स्पष्ट पारे ।