काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकासलाई मुलुकको समृद्धिका आधार भएको बताएका छन्।
यस वर्षको तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले नेपालीहरूको मौलिक पहिचान विविधतायुक्त सांस्कृतिक एक्यबद्धतामा निहित रहेको बताए।
शुक्रबार जारी शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस वर्ष बाढी र पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नु परे पनि संकटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउन पाउनु पर्नेमा जोड दिए।
उनले शुभकामना सन्देशमा भनेका छन्, “यी चाडपर्वहरूले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याउँदै आएका छन्। विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता हामी नेपालीहरूको मौलिक पहिचान हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन्।“
प्रचण्डले विभिन्न चाडपर्वहरूले नेपाली समाजमा आपसी एकता र सहिष्णुतालाई प्रवर्द्धन गर्ने काम गरेको भन्दै यस अवसरमा सबै नेपालीमा समृद्धिको कामना पनि व्यक्त गरे।