धरान ः सुनसरी र मोरङ जिल्लाबाट जुवातास खेल्ने २५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी इनरुवा नगरपालिका–६ मधेशा स्थित सञ्चालनमा नभएको जुत्ता फ्याक्ट्रीमा अवैध जुवातास खेलिरहेको अवस्थामा इनरुवा नगरपालिका– ६ का ६२ वर्षीय तिर्थराज अधिकारी, ५८ वर्षीय झगरु चौधरी , ३१ वर्षीय इन्देश सरदार, १९ वर्षीय गौरव कोइराला, ४३ वर्षीय बाल कृष्ण कोइराला, ५२ वर्षीय दिनेश पोखरेल, ४० वर्षीय अमित कार्कीलाई पक्राउ गरिएको डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।
त्यस्तै ४२ वर्षीय सुमन विश्वकर्मा, २८ वर्षीय जीवन तामाङ, ६२ वर्षीय गोपाल बहादुर चौहान, ४२ वर्षीय राजीव दुलाल, ५० वर्षीय श्रवण कुमार तामाङ, १८ वर्षीय युजिन कोइराला, ७९ वर्षीय उग्र नारायण चौधरी, इटहरी उपमहानरपालिका–१३ का ३९ वर्षीय नेमलाल र इटहरी उपमहानरपालिका–१२ का ४३ वर्षीय भरत कटवाललाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए। उनका अनुसार पक्राउ परेकाहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ नगद १६ थान कौडा बरामद गरिएको छ।
विराटनगर महानगरपालिका–११ मा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा विराटनगर महानगरपालिका–११ का ६१ राजन कडेल, ५७ वर्षीय पशुपति भगत, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर महानगरपालिका–१२ का ४१ वर्षीय टुनटुन शर्मालाइ पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले बताए। त्यस्तै ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय बाबुराम कट्टेल, ४६ वर्षीय लिला सहनी, विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय ध्रुव सिग्देल र विराटनगर महानगरपालिका–५ का ५५ वर्षीय मनिराज प्रसाईंलाई पक्राउ गरेको उनले बताए।
प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको एसएसपी दाहालले बताए। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ