१९ कात्तिक,काठमाडौं । अमेरिकी मतदाताले भावी राष्ट्रपति चयनका लागि ५ नोभेम्बरमा मतदान गर्दैछन् ।
यो निर्वाचनमा २०२० को प्रतिस्पर्धाको पुनरावृत्ति हुने अनुमान थियो, तर जुलाइमा राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारी अन्त्य गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि चुनावी दृश्य फेरियो ।
अहिले सर्वाधिक चासोको प्रश्न हो– के अमेरिकाले आफ्नो पहिलो महिला राष्ट्रपति पाउनेछ ? वा
दोस्रोपटक डोनाल्ड ट्रम्पले पद सम्हाल्नेछन् ?
यिनै प्रश्नमा केन्द्रित रहेर अमेरिकामा विभिन्न सर्वेक्षण भएका छन् ।
राष्ट्रिय सर्वेक्षणमा को अगाडि ?
ह्यारिस जुलाइको अन्त्यमा प्रतिस्पर्धामा प्रवेश गरेपछि राष्ट्रिय सर्वेक्षणको औसतमा ट्रम्पभन्दा थोरै अग्रता लिएकी छिन् ।
सर्वेक्षणमा ह्यारिसको लोकप्रियता पहिलो केही हप्तामा बढेको थियो, र अगस्टको अन्त्यसम्म लगभग ४ प्रतिशतको अग्रता बनाएकी थिइन्।
सेप्टेम्बर र अक्टोबरको शुरूमा सर्वेक्षण स्थिर थियो, तर अन्तिम केही हप्तामा प्रतिस्पर्धा थप कडा बनेको छ । ट्रम्पले दुरी घटाउँदै लगेको देखिन्छ ।
राष्ट्रिय सर्वेक्षणले कुनै पनि उम्मेदवारको देशभरिको लोकप्रियता कति छ भन्ने बारेमा राम्रो मार्गदर्शन दिन सक्छ ।
यिनीहरूले चुनावी नतिजाको राम्रो भविष्यवाणी भने गर्दैनन्।
अमेरिकाले इलेक्ट्रोरल कलेज प्रणाली प्रयोग गर्छ, जसमा प्रत्येक राज्यलाई यसको जनसङ्ख्याको आधारमा केही भोटहरू दिइन्छ । जम्मा ५३८ इलेक्ट्रोरल कलेज भोटहरू छन्, त्यसैले विजयी हुनका लागि उम्मेदवारले २७० भोट जित्नुपर्छ।
अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये धेरैजसो राज्यले लगभग सधैँ एउटै पार्टीलाई मतदान गर्छन्। वास्तविकतामा थोरै राज्यहरू मात्र छन्, जहाँ दुवै उम्मेदवारको जित्ने सम्भावना रहन्छ। यी राज्यहरूलाई ’ब्याटलग्राउन्ड स्टेट्स’ वा ’स्विङ स्टेट्स’ भनिन्छ।
स्विङ स्टेट्समा को अगाडि छन् ?
हालको समयमा स्विङ स्टेट्समा अग्रता यति सानो छ कि सर्वेक्षणको औसत हेरेर कसले अग्रता लिइरहेको छ भन्ने थाहा पाउन गाह्रो छ।
सर्वेक्षणहरूले सामान्य रूपमा जनतालाई कुनै उम्मेदवार वा मुद्दाको बारेमा कस्तो महसुस भइरहेको छ भन्ने बुझाउने प्रयास गर्छन्, तर नतिजाको भविष्यवाणी गर्न सक्दैनन्।
यो औसत बनाउन प्रयोग गरिएका व्यक्तिगत सर्वेक्षणहरूको त्रुटि मार्जिन तीनदेखि चार प्रतिशतको हुन्छ, त्यसैले कुनै पनि उम्मेदवारले देखिएकोभन्दा राम्रो वा खराब गर्न सक्ने सम्भावना रहन्छ ।
एरिजोना, जर्जिया, नेभाडा र नर्थ क्यारोलिनामा अगस्टको शुरूबाटै कहिले ह्यारिस त कहिले ट्रम्पले अग्रता लिँदै आएको देखिन्छ । तर, पछिल्लो समय यी राज्यहरूमा ट्रम्प झिनो अन्तरले अगाडि छन्।
तीन अन्य राज्यहरू– मिशिगन, पेन्सलभेनिया र विस्कन्सिनमा अगस्टको शुरूबाट ह्यारिस अगाडि थिइन् । तर, अहिले ट्रम्प पेन्सलभेनियामा सानो अग्रतामा छन् ।
यी तीन राज्यहरू २०१६ मा ट्रम्पले जित्नुअघि डेमोक्रेटहरूको बलियो आधार क्षेत्र मानिन्थे। बाइडेनले २०२० मा ती राज्य जितेका थिए ।
यदि ह्यारिसले ती राज्यहरू पुनः जित्न सफल भइन् भने उनी निर्वाचन जित्ने बाटोमा अघि बढ्नेछिन् । ट्रम्पले स्विङ स्टेटमा अहिले देखिएको अग्रतालाई केही बढाउन सके नतिजा उनको पक्षमा जान पनि सक्छ । – बीबीसीबाट