वीरगञ्ज । सूर्यको उपासना, शुद्धता र परिवारको सुख–समृद्धिको कामनासहित मनाइने चार दिवसीय छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ । यो पर्व विशेषतः सूर्य र प्रकृतिप्रति समर्पित धार्मिक अनुष्ठानका रूपमा हरेक वर्ष कात्तिक महिनामा मनाइन्छ ।
सूर्यलाई ऊर्जाको श्रोत मानिने भएकाले छठमा उहाँको उपासना गरिन्छ । सूर्य उपासनाले स्वास्थ्य, मानसिक शान्ति, तथा रोगमुक्त जीवन पाउने विश्वास गरिन्छ । विशेष गरी, सूर्यबाट प्राप्त हुने ऊर्जाले जीवनको हरितिमामा वृद्धि हुने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने मान्यता रहेको छ । सूर्यको पूजा गर्दै गर्दा छठ पर्वलाई सन्तानको दीर्घायु, परिवारको समृद्धि, र सुखका लागि अति महत्त्वपूर्ण धार्मिक उत्सव मानिन्छ ।
पहिलो दिन – नहाय खाय
पर्वको पहिलो दिनलाई “नहाय खाय” भनिन्छ । यस दिन व्रतालुहरू स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्, जसलाई आत्म शुद्धि र आध्यात्मिक तयारीको दिन मानिन्छ । पर्वको सुरुवात यस दिनबाट हुन्छ र यसले अनुशासन र धार्मिक निष्ठाको पालना गरिन्छ ।
दोस्रो दिन – खरना
दोस्रो दिन, जसलाई खरना भनिन्छ, व्रतालुहरूले दिनभर निर्जल उपवास गरी साँझपख चन्द्रमाको दर्शनपछि मात्र उपवास तोड्छन् । माटोको चुल्होमा पकाइएको खीरलाई केराको पातमा राखेर छठ मातालाई चढाउने परम्परा छ । खरना धार्मिक श्रद्धा र मानसिक शक्ति बढाउने दिन हो, जसमा व्रतालुले पूर्ण संयमता राखी पूजा गर्छन् ।
तेस्रो दिन – अस्ताउँदो सूर्यलाई अर्घ
छठको तेस्रो दिन, व्रतालुले अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ अर्पण गर्छन् । सूर्यलाई अस्ताउँदो र उदाउँदो दुवै बेला अर्घ अर्पण गर्ने प्रथा अनन्त जीवन चक्र र समयको महत्त्वलाई सङ्केत गर्छ । यस दिन, व्रतालुहरू परिवार र सन्तानको सुख–समृद्धि र स्वास्थ्यको कामना गर्दै अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
चौथो दिन – उदाउँदो सूर्यलाई अर्घ र पर्वको समापन
अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । यस दिन व्रतालुले जलाशयमा पुगेर सूर्यलाई अर्घ अर्पण गरेर व्रत समापन गर्छन् । यो दिन पारिवारिक सुख, सन्तानको दीर्घायु, तथा समाजको कल्याणका लागि विशेष प्रार्थना गरिन्छ ।
छठ पर्वमा सूर्यको पूजा, जलाशयमा अर्घ अर्पण, र शुद्धताको परम्परा रहेकोले यसलाई वातावरण, जीवनको हरियाली, र परिवारप्रतिको प्रेम तथा समर्पणको पर्वका रूपमा विशेष मान्यता दिइन्छ ।