२६ चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म आन्तरिक र बाह्य क्षेत्रमा गरी १०९ वटा गैंडा स्थानान्तरण गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिंगे गैंडाको वासस्थानका लागि उर्वर क्षेत्रका रूपमा छ। कुल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल ६९४ वटा गैंडा छन्।
गैंडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा गरी १०२ वटा गैंडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
थप सात गैंडाको यही चैतमा चितवन निकुञ्जभित्रै आन्तरिक स्थानान्तरण एवं कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले जानकारी दिए। शाहका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैंडा उपहारस्वरूप प्रदान गरिएको छ।
नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा न्याशनल पार्कलाई चार गैंडा उपहारस्वरूप प्रदान गरेको विभागको तथ्यांक छ। त्यसपछि सन् २०१८ सम्म अमेरिका, जर्मनी, सिंगापुर, बाङ्लादेश, बेलायत, जापान, अस्ट्रिया र चीनलाई २२ गैंडा उपहारस्वरूप प्रदान गरिसकेको विभागले जनाएको छ।
आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययन अनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको घनत्व बढी भई यसको वृद्धिदरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैंडाको आन्तरिक एवं कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ। अध्ययनका आधारमा गत माघ २४ गतेको वन तथा वातावरण मन्त्रालय (सचिव स्तर)को निर्णय अनुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा ६ वटा गैंडा स्थानान्तरण गरिएको छ।
यस स्थानान्तरणबाट गैंडाको संख्या बढ्नुका साथै उपलब्ध वासस्थानको उच्चतम प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिस्ट शाहले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोशीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेन्चुरी’ को विकास गर्ने लक्ष्य लिएको छ। त्यसका लागि मन्त्रालय (मन्त्री स्तर)को गत असोज ८ गतेको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पुमा दुई पोथी गैंडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्व पर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो।
हालै मात्र थप एक भाले गैंडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेकाले केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ। चितवनको कसरामा रहेको गैंडालाई उपचारपछि पुनः कोशीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिस्ट शाहले जानकारी दिए।
कोशीटप्पु आरक्षमा ‘राइनो सेन्चुरी’ को विकासक्रमसँगै गैंडाको प्रजनन भई दिगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उनको भनाइ छ। यस क्षेत्रमा ‘राइनो सेन्चुरी’ का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उनले बताए।
भारतीय महाद्वीपको उत्तरी क्षेत्र अन्तर्गत बह्मपुत्र, इन्दुस र गंगा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिंगे गैंडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन्।
विश्वमा करीब चार हजारको संख्यामा रहेका एकसिंगे गैंडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैंडा गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी ७५२ वटा रहेको विभागले जनाएको छ। रासस