वीरगञ्ज। वीरगञ्ज वडा नं. ५ स्थित कुम्हालटोलमा रहेको आदर्श थारु छात्राबासको चौथो साधारणसभा आज सम्पन्न भएको छ। कार्यक्रम छात्राबासका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा र मधेस प्रदेशको गृह, कानुन तथा सञ्चार मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा मन्त्री लेखीले थारु समुदाय आफ्नै कारणले पछाडि परेको उल्लेख गर्दै संविधानले दिएको अधिकारको उचित उपयोग गर्न नसक्दा आदिवासी जनजाति थारु समुदाय अझै पनि सेवा–सुविधाबाट वञ्चित रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, आवास, र जीवनस्तरमा सुधारका लागि सरकारलाई आवाज उठाउनु पर्नेमा जोड दिए। २००९ सालमा स्थापना भएको यो छात्राबास अहिले जिर्ण अवस्थामा रहेको र यसमा सुधार आवश्यक भएको उनले बताए। मन्त्री लेखीले आफ्नो शिक्षामन्त्रीको कार्यकालमा बजेट बिनियोजन गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि छात्राबासको लागि बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
विशिष्ट अतिथिका रुपमा थारु कल्याणकारी सभाका केन्द्रिय संरक्षक अमृत प्रसाद थारु, संविधानसभा सदस्य जयप्रकाश थारु, बारा क्षेत्र नं. ४ का प्रदेश सांसद देवनारायण चौधरी, प्रदेशसभा सदस्य बिना शर्मा, कोल्हबि नगरपालिकाका मेयर रामप्रसाद चौधरी, उपमेयर लक्ष्मी चौधरी तथा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्यहरु कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरुले नव निर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गर्नुका साथै थारु समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरियो।
यस साधारणसभाबाट शेखर चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति पनि निर्विरोध चयन भएको छ। कार्यसमितिमा उपाध्यक्ष ललिता चौधरी, सचिव अमृतलाल चौधरी, कोषाध्यक्ष हिर्दय नारायण चौधरी र सदस्यहरु वेदमन दास थारु, कमल महतो थारु, दिपेन्द्र प्रसाद चौधरी, जगनारायण प्रसाद चौधरी, मिना कुमारी चौधरी, ढोढाई चौधरी र अनुठा धामी निर्वाचित भएका छन्।