सिमरा– बारा निजगढका प्रेमबहादुर तामाङ आफ्नै गाउँमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल सञ्चालनमा आउँदा दङ्ग छन्। उनी आँखाको उपचार गर्नका लागि देशका विभिन्न सुविधा सम्पन्न शहरमा मात्रै धाएनन्, छिमेकी राष्ट्र भारतसम्म पुगेका छन्।
तर अहिले आँखाको उपचारका लागि प्रख्यात तिलगंगाको सेवा गाउँमै आएपछि प्रेमबहादुरको खुसीको सिमा छैन। उपचारका लागि अब अन्त धाउनुपर्ने बाध्यता अन्त्य भएकोमा हौसिएका प्रेमबहादुरको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिदिएर अस्पतालले खुसी थपिदिएको छ।
निजगढ नगरपालिका ९ मा निर्माण भएको अस्पताल उद्घाटन कार्यक्रममा आइपुगेका प्रेमबहादुरले तिलगंगा अस्पतालका चिकित्सक आफ्नो लागि भगवान सरह नै रहेको बताए। उनले अब आफू मात्र नभइ आँखाको उपचार गराउनका लागि कसैले पनि टाढा जानुपर्ने बाध्यता हटेको बताए।
‘आँखामा समस्या भएपछि चिन्ता नहुने कुरै भएन, त्योभन्दा बढी चिन्ता उपचारका लागि अन्यत्र धाउनुपर्दा हुने थियो’, प्रेमबहादुरले भने, ‘अब भने त्यो चिन्ता हटेको छ। गाउँमै उपचार सुरु भएपछि पैसा पनि जोगिने भयो।’
सेवा सुरुवातको अवसर पारेर अस्पतालले कार्तिक २४ गतेदेखि २७ गतेसम्म पाँच सय ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको हो। शल्यक्रिया गराउन आएका व्यक्तिलाई खान, बस्न मात्र नभइ यातायातको समेत सुविधा उपलब्ध गराइएको थियो। जसले गर्दा उपचारका लागि आएका सर्वसाधारण निकै खुसी देखिन्थे।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको समन्वय र अष्ट्रेलियाको द फ्रेड हलोज फाउन्डेशनको सहयोगमा अस्पताल निर्माण भएको हो। करिब २२ लाख अष्ट्रेलियन डलरको लागतमा निर्माण भएको अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा नेत्र विशेषज्ञ एवम् तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइत, द फ्रेड हलोज फाउन्डेशनका कार्यवाहक अध्यक्ष माइकल जन्सन, प्रमुख कार्यकारी अधिकृत इयान विशआर्ट, कलाकार हरिवंश आचार्य, प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, प्रदेशसभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नेपाल आँखा कार्यक्रमका कार्यकारणी अध्यक्ष सुहृद घिमिरे, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङसहित नेपाल आँखा कार्यक्रम र द फ्रेड हलोज फाउन्डेशनका पदाधिकारी, सुरक्षाकर्मीका उच्च अधिकारी, जनप्रतिनिधिलगायत उपस्थित थिए।
निजगढ नगरपालिकाका वर्तमान र निवर्तमान जनप्रतिनिधिले अस्पतालका लागि ११ कठ्ठा १० धुर जग्गा उलपब्ध गराएका हुन्। जसले गर्दा अस्पताल निर्माण सम्भव भयो। निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अस्पताल निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। निवर्तमान नगर प्रमुख सुरेश खनालले पनि खुसी व्यक्त गरेका छन्।
पूर्व नगर प्रमुख खनाल र निर्वतमान उपप्रमुख लिलादेवी लामिछाने खनालले २०७८ फाल्गुनमा अस्पतालको शिलान्याश गरेका थिए।
अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उच्च स्तरको उपचार सेवा प्रारम्भ भएकोमा खुसी व्यक्त गरे। उनले उपचारका लागि देशबाट मात्र नभइ भारतबाटसमेत आउने हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए। अस्पताल निर्माणका लागि नेतृत्वदायी भूमिका खेलेका नेत्र विशेषज्ञ डा. रुइतले सिमान्तकृत समुदायलाई लक्षित गरेर अस्पताल निर्माण भएको बताए। डा. रुइतले आर्थिक रुपमा विपन्न रहेका विरामीलाई उनिहरुकै माझमा पुगेर सेवा दिन आफूहरु तयार रहेको समेत बताए। ‘हाम्रो उद्देश्य सिमान्तकृत समुदायका लागि सेवा दिने नै हो। उहाँहरुको सहजताका लागि गाउँमै पुगेर सेवा दिन सधै तयार छौं’, डा. सन्दुकले भने।