३० कार्तिक,वीरगञ्ज । वीरगञ्जमा मंसिर १ गते शनिबारदेखि पाचौं कर्पोरेट सुपरसिक्स क्रिकेट टुर्नामेण्ट हुने भएको छ ।
वीरगञ्ज स्पोर्ट्स एकेडेमी र लायन्स क्लब अफ वीरगन्ज परिवारको आयोजनामा पाँचौ कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको वीरगञ्ज स्थित आदर्शनगर रंगशालामा शनिबार उदघाटन हुनेछ ।
प्रतियोगितामा वीरगञ्जमा सञ्चालित बैंक, वित्तीय संस्था, वीमा कम्पनी, फर्मास्युटिकल्स र औद्योगिक समूह गरी १६ वटा टिमको सहभागिता रहने वीरगञ्ज लायन्स क्लब अफ परिवारका सभापति भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल राष्ट्र बैंक, कामना विकास बैंक, सिद्धार्थ बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड रहेका छन् । समूह बी मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेको इन्स्यूरेन्स रहेका छन् ।
त्यस्तै समूह सी मा क्वेष्ट फर्मास्यूटिकल्स, म्याग्नस फर्मास्यूटिकल्स, नेपाल टेलिकम र सूर्य नेपाल प्रालि रहेका छन् । समूह डी मा अग्नी ग्रुप, ओम्नी ग्रुप, गरिमा विकास बैंक र सुप्रिम रहेका छन् । उदघाटन खेल शनिबार बिहान ८ बजेदेखि शुरु हुनेछ ।
एकहप्तासम्म चल्ने प्रतियोगिताको सेमीफाईनल खेल र फाईनल खेल सहित पुरस्कार वितरण अर्को शनिबार हुने आयोजकले जनाएको छ ।