३० कार्तिक,काठमाडा । नेपालबाट पहिलो पटक आज (शुक्रबार) ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौताबमोजिम आज एक दिन मात्र ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले शुरूआतमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजुल करिम र एनटिपिसी विद्युत् व्यापार निगम भारतकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङ्गले हस्ताक्षर गरेका थिए ।
शुक्रबार नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२ः५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ ।
शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पु¥याउँदै छ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।