बारा । बाराको महागढीमाई नगरपालिका बरियापुरमा आगामी मंसिर १ गतेबाट सुरु हुने पञ्चवर्षीय ‘गढीमाई मेला २०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ। गढीमाई मेला मूल समितिले बिहीवार पत्रकार सम्मेलनमार्फत मेलाको तयारीका सबै पक्षहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलाका लागि श्रद्धालु भक्तजनहरूको सुविधाका लागि स्वच्छ खानेपानी, घुम्ति शौचालय, अस्थायी शौचालय, र सडक मर्मत तथा निर्माणजस्ता कामहरू लगभग सम्पन्न भएको जानकारी दिनुभयो।
मधेस प्रदेश र संघीय सरकारको सहयोग
अध्यक्ष यादवका अनुसार मेलाको व्यवस्थापनका लागि ४० घुम्ति र १ हजार अस्थायी शौचालय निर्माण गरिँदैछ। यसका लागि मधेस प्रदेश र संघीय सरकारको सहयोगमा काम भइरहेको छ। भारतबाट आउने श्रद्धालुहरूलाई सहज प्रवेशका लागि सीमा नाकाका सडकहरूको मर्मतसमेत गरिएको छ। मेलास्थलमा मनोरञ्जनका साधन र पसल व्यवस्थापनका लागि जग्गा वितरणको काम पनि अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो।
शान्ति सुरक्षा र उपसमितिहरूको सक्रियता
मेलाको शान्ति सुरक्षादेखि पसल व्यवस्थापनसम्मका कामहरू व्यवस्थित गर्नका लागि १३ वटा उपसमिति गठन गरिएको छ। मेला मूल समितिका अध्यक्ष यादवले उपसमितिहरूले पारदर्शी र मितव्ययी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पत्रकार व्यवस्थापनको जिम्मेवारी
मेला प्रचारप्रसार उपसमितिअन्तर्गत पत्रकार व्यवस्थापनको जिम्मेवारी श्रीकान्त गुप्तालाई दिइएको छ भने समाचार सम्प्रेषण संयोजकमा नरेश गुप्ता र न्युज प्राविधिक संयोजकमा अखिलेश यादवलाई मनोनयन गरिएको छ।
समितिले श्रद्धालु भक्तजनहरूलाई निर्धक्क भएर गढीमाई दर्शन र मेलाको अवलोकन गर्न आग्रह गरेको छ। मेलाको व्यवस्थित आयोजना र व्यवस्थापनका लागि सबै पक्ष सक्रिय रहेको जानकारी दिइएको छ।
मेलाको महत्त्व
पाँच वर्षको अन्तरालमा लाग्ने गढीमाई मेला धार्मिक, सांस्कृतिक, र आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस मेलामा नेपालसहित भारतबाट पनि लाखौं श्रद्धालुहरूको सहभागिता हुने विश्वास गरिएको छ।