स्थानीय तहका ४४ वटा रिक्त पदका लागि मंसिर १६ गते हुने उपनिर्वाचनको लागि सात हजार दुई सय प्रहरी परिचालन गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले कार्य विभागका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । तर, यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।
उपनिर्वाचनमा कुल २ लाख २६ हजार सात सय ९९ मतदाता संख्या छन् । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख १÷१ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुन लागेको हो ।
निर्वाचनको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर प्रारम्भिक सुरक्षा खाका पेश गरेका छन् ।
केही स्थानीय तहमा विगतका निर्वाचनमा मतपत्र आगजनीदेखि मतपेटिकासमेत तोडफोड गरेका घटना भएकाले ति मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ ।जसमा जाजरकोटको नलगाड नगरपालिका, दैलेखको महाबु गाउँपालिका, रुकुम पूर्वको उत्तरगंगा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, सप्तरीको डाक्नेश्वरी नगरपालिका, रौतहटको ईशनाथ नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकालाई अति संवेदनशील मतदानस्थलको रुपमा राखिएको छ ।
निर्वाचनमा विगतको जस्तै भित्री पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा आवश्यकताअनुसार नेपाली सेना परिचालन हुनेछन् । उपनिर्वाचनमा २९३ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
त्यस्तै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहु गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।