काठमाडौं ः सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। उनका अनुसार राष्ट्रिय शोकका दिन आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको छ। उनले सभामुखको भूमिकाको उच्च मूल्याङ्कन गरेको गुरुङले बताए।
ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो। पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ। त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ। सरकारका प्रवक्ता समेत रहेका गुरुङले ढुंगानाका अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने बताए।
सभामुख देवराज घिमिरेले आइतबार साँझ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विद्यार्थीहरू आन्दोलनमा लागेका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए ।
३० वर्षको उमेरमा नेपाल बार एसोसिएसनको महासचिव भएका ढुंगाना झन्डै दुई दशक वकालत पेसामा संलग्न थिए । २०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव भएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गरेका ढुंगानाले ०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए । ०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका ढुंगाना सभामुख भएका थिए । उनी ०५१ सालसम्म सभामुख भएका थिए ।
०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन्। ०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजय भएसँग राजनीतिमा निस्क्रिय देखिएका थिए ।