पर्सा ः किसानहरू यतिबेला हिउँदे खेती लगाउन व्यस्त छन् । तर, खेती लगाउने समयमा नै मल नपाउँदा नवलपरासीका किसानहरू चिन्तित बनेका छन् ।
किसानले अहिले प्रमुख रुपमा गहुँ, तोरी र मकैलगायतका हिउँदे खेती लगाउन सुरु गरेका छन् । खेती लगाउने समयमा डिएपी मल आवश्यक हुन्छ । तर, जिल्लामा डिएपी मलकै हाहाकार भएको छ । डिएपी मलको अभाव भइरहँदा जिल्लामा युरिया मल भने प्रयाप्त छ ।
खेतीलाई तत्काल आवश्यक पर्ने डिएपी मल भने आउने छाट देखिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड परासीले पालिकाहरुको सिफारिसमा सहकारीमार्फत किसानहरूलाई मल वितरण गर्दै आएको छ ।
चालु वर्षको अहिलेसम्म दुई चरणमा आएको डिएपी मल कम्पनीले वितरण गरिसकेको हो । जिल्लामा वार्षिक न्यूनतम १२ हजार १२५ मेट्रिक टन डिएपी मल आवश्यक हुँदा अहिलेसम्म जम्मा ७६४ दशमलब ४५० मेट्रिक टन (१५ हजार २८९ बोरा) डिएपी मल आएको हो । चालु वर्षको साउन र कात्तिकमा आएको उक्त मल वितरण गरिसकिएको छ । अब मल आउने सम्भावना कम रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख नरहरि पोखरेलले बताए ।
५० केजीका प्रति बोरा डिएपी मललाई कम्पनीले २ हजार २४४ मा सहकारीलाई बिक्री गर्दै आएको छ । उक्त मललाई ढुवानी खर्चसहित अन्य खर्च जोडेर सहकारीहरुले किसानहरुलाई बिक्री गर्दै आएका छन् ।
यता जिल्लामा डिएपी मल उपलब्ध गराउँदै आएको भैरहवास्थित कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका प्रमुख तीर्थराज न्यौपानेले तत्कालै मल आउने संभावना नरहेको बताए । ‘गहुँ लगाउने समयसम्म मल आउने सम्भावना छैन । तैपनि मंसिरको अन्तिम सातासम्म मल आउने जानकारी पाएका छौं ।
गएको धान खेतीको समयमा सहज रुपमा मल पाएका किसानहरुले भने अहिले भने मलको अभाव खेप्न बाध्य भएका हुन् । किसानहरुलाई डिएपी मलको आवश्यक भइरहेका बेला जिल्लामा भने युरिया मल प्रयाप्त छ । अहिले युरिया मल त्यति आवश्यक नहुने भएकाले उक्त मल कृषि सामग्री कम्पनी परासीको गोदाममा थन्किएको छ । चालु वर्षको अहिलेसम्म कम्पनीमा २ हजार ९६८ मेट्रिक टन युरिया मल आएको छ । जसमध्ये अहिले १ हजार १६ मेट्रिक टन युरिया कम्पनीको गोदाममै रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख पोखरेलले जानकारी दिए । युरिया मल पनि जिल्लाका लागि प्रयाप्त होइन । जिल्लामा वार्षिक न्यूनतम १९ हजार ७ सय मेट्रिक टन युरिया र ५ हजार ७२० पोटास आवश्यक रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि अधिकृत नवराज घिमिरेले जानकारी दिए ।