विषयगत शिक्षकको अभावको विरोधमा पर्साको कालिकामाई गाउँपालिका – १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलीत भएका छन् ।
कक्षा ९, १०, ११, र १२ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार विद्यालयको मूल प्रवेशद्वारमा तालाबन्दी गर्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । पठनपाठन प्रभावित भएको गुनासो गरेका विद्यार्थीहरूका अनुसार, शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा पनि विद्यालयमा विज्ञान, सामाजिक, अर्थशास्त्र, र अङ्ग्रेजी विषयका शिक्षकको व्यवस्था नभएको कारण पढाइ ठप्प भएको छ ।
एक अभिभावकका अनुसार, चार महिनाअघि विद्यालयले तीन जना विषयगत शिक्षक नियुक्त गर्न सूचना जारी गरेको थियो । तर प्रधानाध्यापक राजेश तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष लालबाबु चौरसिया, र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसियाबीच भागबन्डा नमिल्दा प्रक्रिया रोकिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले विषयगत शिक्षकको अभाव रहेको स्वीकार गर्दै आन्दोलनरत विद्यार्थीहरूसँग वार्ता गरेर समस्या समाधान गरिने आश्वासन दिएका छन् । उनले शिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै दसैँ बिदामा शिक्षा शाखा प्रमुख हिमांशु भट्ट अनुपस्थित भएका कारण ढिलाइ भएको बताए ।
उनका अनुसार, विद्यालय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी पालिकामा विज्ञापन स्वीकृतिका लागि पठाइसकेको जानकारी दिए ।