वीरगञ्ज । यू–१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली चयन भएको छ । यस पटक वीरगञ्जका उदीयमान खेलाडी रञ्जित कुमारको चयनले विशेष चर्चा पाएको छ ।
लेफ्ट आर्म अर्थोडक्स बलर रञ्जित कुमारले वीरगञ्जको प्रतिनिधित्व गर्दै प्रदेशदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपाल ‘ए’ टोलीबाट खेलेका उनले आफ्नो पहिलो खेलमै वेस्टइन्डिजविरुद्ध ३ विकेट लिएर टुर्नामेन्टको उत्कृष्ट पाँच बलरमा स्थान बनाएका थिए ।
सामान्य परिवारमा जन्मिएका मुर्ली निवासी रञ्जितलाई कोच प्रकाश शर्माले प्रशिक्षित गरेका हुन् । शर्माले भने, “रञ्जितमा निरन्तर मेहनत गर्ने क्षमता छ । उसले आफ्नो मेहनत र अनुशासनले यो स्थान पाएको हो ।”
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले रञ्जितको चयनप्रति गर्व व्यक्त गर्दै भने, “रञ्जित जस्ता प्रतिभाशाली खेलाडी पर्सामा हुनु हाम्रा लागि ठूलो सौभाग्य हो । उसको सफलताले वीरगञ्जका अन्य युवा खेलाडीलाई प्रेरणा मिल्नेछ ।”
रञ्जितलाई अध्ययन र खेलकुदमा सहयोग गर्न नेशनल इन्फोटेक कलेजले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको थियो । यससँगै पर्सा क्रिकेट सङ्घको पहलमा बीआइटी कलेजले उनलाई वार्षिक प्रोत्साहन रकम पनि प्रदान गर्दै आएको छ ।
रञ्जितले आफ्नो अनुभव साझा गर्दै भने, “यो मेरो सपना थियो, र नेपाली टोलीको प्रतिनिधित्व गर्ने अवसर पाउँदा म निकै खुसी छु । यो स्थानसम्म आइपुग्न मैले धेरै मेहनत र सङ्घर्ष गरेको छु । मेरो प्रशिक्षक, परिवार, र पर्सा क्रिकेट सङ्घको योगदानबिना यो सम्भव थिएन । अब मेरो ध्यान एसिया कपमा राम्रो प्रदर्शन गर्नेमा छ ।”
रञ्जित कुमारको यो उपलब्धि वीरगञ्जका युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।
कप्तान हेमन्त धामीसँगै टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अप्राजित पौडेल, अभिषेक तिवारी, र रञ्जित कुमार समावेश छन् ।
यू–१९ एसिया कप मङ्सिर १४ देखि युएईमा सुरु हुँदै छ। नेपाल समूह ‘बी’ मा छ, जसमा अफगानिस्तान, बङ्गलादेश, र श्रीलङ्का रहेका छन्। नेपालले आफ्नो पहिलो खेल मङ्सिर १४ मा श्रीलङ्कासँग, दोस्रो खेल मङ्सिर १६ मा बङ्गलादेशसँग, र तेस्रो खेल मङ्सिर १८ मा अफगानिस्तानसँग खेल्नेछ ।
समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल मङ्सिर २३ मा हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धिरेन्द्र साउद छन् ।