काठमाडौं– काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा शुरू गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा शुरू गर्न लागेको महानगरले जनाएको छ। शुरूमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ।
आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं.२७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ। सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ।
महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं.१९ कंकेश्वरी, वडा नं.२६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं.१६ बालाजु, वडा नं.२७ महावौद्ध, वडा नं.१२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकेको छ।
यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन्।