काठमाण्डौँ– बारामा ‘कृषि एक्स्पो गढीमाई–२०८१’ हुने भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउन एक्स्पो आयोजना हुन लागेको हो ।
कनेक्ट किसानको आयोजनामा १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिइएको मेला संयोजक सञ्चिता लामिछानेले बताइन् ।
आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार छ, जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउने लामिछानेले जानकारी दिइन् ।
एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।