कर्मचारीलाई अन्यायपूर्ण पटक पटक सरुवा गरेको विरोधमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरु आन्दोलित भएका छन् । क्याम्पस प्रशासनले एकजना कर्मचारीलाई व्यक्तिगत पूर्वाग्रह राखेर सरुवा गरेको विरोधमा त्रिवि कर्मचारी संघले क्याम्पस प्रशासन विरुद्ध आन्दोलन गरेका हुन् ।
ठाकुराम बहुमुखी क्याम्पसका सरुवा हुनुपर्ने कर्मचारीलाई सरुवा नगर्ने तर, एकजना कर्मचारीलाई भने व्यक्तिगत पूर्वाग्रह राखेर पटक पटक सरुवा गरेकोले त्यसको विरोधमा आन्दोलित हुनुपरेको त्रिवि कर्मचारी संघ ठाकुराम ईकाई अध्यक्ष किशोरी चौधरीले बताए ।
क्याम्पसका कर्मचारी बुधन मुखियालाई एकबर्ष पनि नभई पटक पटक विभिन्न शाखामा सरुवा गरेको र पछिल्लो पटक ठाकुरराम बहुमुखी क्याम्पसबाट सिराहा क्याम्पसमा सरुवा गरेकोले सरुवा रोक्न कर्मचारीहरुले आन्दोलन गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर, परीक्षा शाखा लगायतको कार्यलयहरुमा ताला बंदी गरिएको इकाई अध्यक्ष चौधरीले जानकारी दिए । क्याम्पसको सहायक लेखापालको पदमा रहेका गुञ्जन सिंह ठाकुरराम बहुमुखी क्याम्पसमा लेखा प्रमुखको रुपमा कार्यरत रहेका थिए ।
लेखा प्रमुखको रुपमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गर्ने समयमा क्याम्पस प्रमुख रञ्जीत प्रसाद यादवले उनको सरुवा नगरेर काजमा खटिएका सहायक लेखापाल बुधनलाई सिराहा क्याम्पसमा सरुवा गरिदिएको कर्मचारीहरुको आरोप छ ।
स्टोर शाखाकी गीता श्रेष्ठ र क्याम्पस प्रमुख यादवको मिलेमतोमा सिंहको सरुवा नगरी उनीहरुको व्यक्तिगत रिसिवीले बुधनलाई सरुवा गरेको क्याम्पसका कर्मचारीहरुको भनाई छ ।
पटक पटक एउटै व्यक्तिलाई सरुवा गरेको र ठाकुरराम बहुमुखी क्याम्पसमै कर्मचारी अभाव भएको बेला सिराहा सरुवा गरेकोले सरुवा फिर्ता हुनुपर्ने माग सहित कर्मचारी संघले आज कामकाज ठप्प पारेर आन्दोलन शुरु गरेको त्रिवि कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाले बतमए ।