हिन्दू स्वयंसेवक संघ नेपालको प्रचारक विस्तारक वर्ग पोखरामा शनिवारबाट शुरु भएको छ । स्वयंसेवक संघले हिन्दू धर्म–संस्कृति, हिन्दू समाज र हिन्दू राष्ट्रको सर्वाङ्गीण उन्नतिको लक्ष्यका साथ कार्य गर्दै आइरहेको छ ।
संघकार्यको विस्तार र दृढीकरणका लागि अहोरात्र कार्य गर्दै आइरहेका प्रचारक विस्तारकहरूको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष ५ दिनको आवासीय प्रशिक्षण आयोजना हुँदै आएको छ ।
भुमेश्वर महादेव मन्दिर पुम्दीकोट, पोखरा कास्कीमा मंसिर १५ देखि १९ गतेसम्म हुने वर्गमा शनिवार वक्ता राष्ट्रिय सह–प्रचारक श्री रेवितकुमार हुनुहुन्थ्यो । उहाँले संघ पारिवारिक संगठन भएकोमा जोड दिनुहुँदै विश्वका ७२ देशमा संघकार्य भइरहेको बताउनु भयो । नेपालमा २०४८ सालबाट शुरु भएको संघले ७७ वटै जिल्लामा कार्य गरिरहेको बताउनु भयो ।
सह–प्रचारक श्री रेवितकुमारले हिन्दू धर्म संस्कृति विश्वको समृद्ध संस्कृति हुनाका साथै सुसंस्कृत जीवन पद्धति भएको बताउनु हुँदै अन्य धर्मसंस्कृतिको अधार्मिक गतिविधि र षडयन्त्रलाई हिन्दू समाजले समयमै थाहा नपाउँदा विधर्मीको हौसला बढेको बताउनु भयो । हिन्दू समाजलाई जगाउन पारिवारिक संगठनका रूपमा संघ र यसका कार्यकर्ताले अहोरात्र कार्य गरिरहेको बताउनु भयो ।
वर्गको उद्घाटन शत्रमा राष्ट्रिय सह–संघचालक विष्णुप्रसाद पौडेल, सह–राष्ट्रिय प्रचारक रेवितकुमार, अतिथिहरुमा पुम्दिकोट कोट विकास समितिका अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बराल, पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरि बराल, कास्की जिल्लाका माननीय जिल्ला संघचालक रामचन्द्र थापा मञ्चासन हुनुहुन्थ्यो भने राष्ट्रिय प्रचारक वेद प्रकाश, राष्ट्रिय सेवा प्रमुख डाक्टर कालु शर्मा सुवेदी र पोखरा क्षेत्रका अन्य दायित्वधारी कार्यकर्ता लगायत पोखराका सामाजिक, धार्मिक एवं व्यावसायिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।