अमलेखगन्ज : साढे तीन दशकअघि सञ्चालनमा आएको अमलेखगन्ज इन्धन डिपो अब पूर्ण अटोमेसनमा जाने भएको छ । दोस्रो चरणअन्तर्गत पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न नेपाल आयल निगमले थप चारवटा ट्यांकी, लोडिङ–वे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेसँगै डिपो अटोमेसनमा जान भएको हो ।
लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ–वे’ निर्माण गरिएको अमलेखगन्जस्थित निगमको प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जनाए ।
२४ वटा ‘लोडिङ–वे’ मा ३६ वटा फिलिङ पोइन्ट राखिएको छ । यसमध्ये पेट्रोलका ७ वटा बटम लोडिङ र ८ वटा टप लोडिङ गर्न सकिन्छ । डिजेलका ४ वटा बटम र १४ वटा टप लोडिङ गर्न सकिन्छ । मट्टितेलको एउटा मात्र टप लोडिङ रहेको आचार्यको भनाइ छ । ‘पूर्वाधार निर्माणसँगै अमलेखगन्ज डिपो मुलुककै सबैभन्दा ठूलो इन्धन डिपो बनेको छ । लोडिङमा पूर्ण अटोमेसनमा जाने पहिलो डिपो पनि यही बन्दै छ,’ आचार्यले भने ।
अमलेखगन्ज डिपो २०३० सालबाट निर्माण सुरु गरिएको थियो । ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको इन्धन डिपो २०३३ सालमा निर्माण सकिएको थियो । त्यति बेला डिपोको भण्डारण क्षमता ४ हजार ४ सय ८० किलोलिटर मात्रै थियो । २०५५ मा डिपोको क्षमता विस्तार गरी २३ हजार २ सय ३० किलोलिटर पु¥याइएको हो ।
बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना सञ्चालनसँगै डिपोको क्षमता थप विस्तार गरियो । पाइप लाइन २०७६ भदौ २४ बाट औपचारिक रूपमा उद्घाटन भयो । तर दोस्रो चरणअन्तर्गत डिपो निर्माण, लोडिङ–वे, प्रयोगशालालगायत निर्माणको काम बाँकी नै थियो । दोस्रो चरणअन्तर्गत पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य छ ।
दोस्रो चरणको परियोजनाका लागि भारतीय आयल निगम (आईओसी) र निगमले संयुक्त लगानी गर्ने गरी सम्झौता भएको छ । यसअनुसार निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गर्ने सम्झौता छ । आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई परियोजनाको पूर्वाधार निर्माणको जिम्मा दिएको छ । परियोजना निर्माण गर्न २०२४ मार्चसम्मको सम्झैता भए पनि ढिलाइ भएको थियो ।
पूर्ण अटोमेसनमा सञ्चालन गर्न करिब ९८ प्रतिशत काम सकिइसकेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए । ‘अटोमेसनमा जाने काम अन्तिम चरणमा छ, ९८ प्रतिशत काम सकिइसकेको छ । पाइप लाइनबाट पहिलो पटक पेट्रोल ल्याएर लोडिङ–वेबाट परीक्षण पनि भयो,’ भट्टले भने, ‘अब उद्घाटनका लागि आईओसीको समय कुरेका छौं ।’
दोस्रो चरणअन्तर्गतको परियोजना उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै गराउने गृहकार्य भइराखेको छ । डिसेम्बर अन्तिम साता नभए जनवरी पहिलो सातामै उद्घाटन हुने भट्टले बताए । सोमबार पनि वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा कार्यकारी निर्देशक भट्टसहितको टोलीले परियोजनाको प्रगति निरीक्षण गरेको छ ।
निगमका डिपो म्यानुअलबाट सञ्चालन हुँदै आएका छन् । प्रविधिको विकाससँगै अटोमेसनमा जान जरुरी भइसकेको निगमले जनाएको छ । अटोमेसनमा गएपछि चालकले ‘लोडिङ–वे’ अनुसार गेट पास पाउँछन् । कार्ड देखाएपछि इन्धन भर्न इन्ट्री गर्न पाउँछन् । त्यसअपछि आफैं इन्धन भर्न सकिने जनाइएको छ ।
‘म्यानुअलमा निगमका कर्मचारी बसेर ढकन भने खोल्नुपर्छ । ट्यांकरमा बसेर डिप टेस्ट गर्न कर्मचारी नै बस्नुपर्छ,’ भट्टले भने, ‘तर अटोमेसनमा जाँदा डिप टेस्ट गर्नुपर्दैन । कर्मचारी बस्नुपर्दैन ।’
‘लोडिङ–वे’ निर्माण भएपछि पाइप लाइनबाट पहिलो पटक ५ हजार ५ सय किलो लिटर पेट्रोल आयात गरिएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख आचार्य बताउँछन् । पेट्रोल गत असोज १७ मा आएको थियो । पेट्रोल आएपछि त्यसको सफल परीक्षण भइसकेको छ । अहिले पाइप लाइनबाट डिजेल मात्रै आयात हुन्छ । पुसबाट पेट्रोल पनि पाइप लाइनबाटै आयात हुन्छ । पाइप लाइनबाट डिजेल ल्याएपछि बीचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन (पीसीके) मिसाएर पेट्रोल ल्याइनेछ । पीसीके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ ।
पाइप लाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले बताएको छ । ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता, समयको बचतलगायत फाइदासमेत हुनेछ ।
नेपाल र भारतले बनाइरहेका परियोजनामा नेपालतर्फका प्रमुख प्रदीप यादवको नेतृत्वमा नेपालले बनाउने परियोजनाअन्तर्गत अमलेखगन्जमा ५ हजार किलोलिटरको पेट्रोल र ५ हजार किलोलिटरको डिजेल ट्यांकीबनिसकेका छन् ।
अमलेखजगन्जमा १५ हजार १ सय १० किलोलिटर क्षमताको पेट्रोल ट्यांकी, २४ हजार ८ सय ४० किलोलिटर क्षमताको डिजेल ट्यांकी र २ हजार २ सय ६० किलोलिटर क्षमताको मट्टितेल ट्यांकी छ । ५ सय किलोलिटर क्षमताको ट्रान्समिक्स ट्यांकी र ८ हजार ४ सय किलोलिटरको पानीट्यांकी पनि छ । अमलेखगन्ज डिपोबाट दिनको ६ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेल बिक्री हुन्छ ।
डिपोबाट चितवन, तनहुँ, मकवानपुर, लमजुङ, गोरखा, नवलपरासी, बारा, पर्सा, रौतहट, धादिङलगायत २६ जिल्लामा इन्धन वितरण गरिन्छ । साथै निगमकै विराटनगर, धनुषा, थानकोट, पोखरा र भलवरी कार्यालयमा इन्धन स्टक ट्रान्सफर गरिन्छ । सभार :कान्तिपुर