३ वैशाख,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादीे चरित्र नांगो ढंगबाट प्रकट भएको बताएका छन्।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा वर्तमान सत्ता समिकरणमार्फत नाउपालाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट समथर्न गर्ने समाजवादीको कदम अराजनीतिक प्रवृति भएको समेत बताए।
समाजवादीको कदम विपक्षीहरुको आशा पलाउने र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी भएको उनको भनाइ छ। उनले कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गरेको आरोप समेत लगाए।
‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ। एस भन्ने पार्टी छ एउटा। त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक भएर अर्को गुटबाट जाने र कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने, यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्न सक्ने भनेर हिजोमात्रै मुख्यमन्त्रीको दाबी गर्ने दिन थियो सुदूरपश्चिममा। एकीकृत समाजवादी कि के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो,’ उनले भने।
आन्तरिक रुपमा नेकपा एसको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको उनले बताए। उनले भने, ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाहिँ विदेशीको हितमा काम गर्ने गरेको देखियो। तर यसले केही फरक पार्नेवाला छैन।’
ओलीले समाजवादीको आधार तयार पारेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउँदै एमाले ध्यान मिसन ८४ मा केन्द्रित रहेको धारणा राखे। उनले अहिलेको अवस्थामा देशमा देखिएको समस्या समाधानका लागि नया समिकरण बनाइएको भन्दै मन्त्रालयको विवादमा फसेर समय खेर फाल्न एमालेले उचित नठानेको जिकिर गरे।
त्यस्तै अध्यक्ष ओलीले बामपन्थीका नामको एकताले सरकार र देश नचल्ने बताए। बामपन्थी भनिएका शक्तिहरु वास्तविक रुपमा बामपन्थी हुन नसक्ने भन्दै उनले यस्ता बामपन्थीबाट पार्टी बलियो हुन नसक्ने तर्क गरे।
उनले आवश्यक परेका बेला छानेर बामपन्थी एकता हुने भन्दै पार्टी विगार्ने अवसरको खोजीका लागि र आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलव्ध नगराउने बताए। अध्यक्ष ओलीले पछिल्लो समय एमालेले चालेको कदमहरु सहि रहेको भन्दै यसलाई सफल बनाउने गरि अघि बढ्न निर्देशन दिए।