काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता गरिएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्राइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविधुत आयोजना पवर्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा सम्झौता भएको हो ।
बुट मोडलमा निर्माण गरिने प्रसारण लाइनका राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका अलावा रेमिट हाइड्रोजन, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड,यूनियन हाइड्रो भन्चेर प्राइभेट लिमिटेडले स्वपुँजी लगानी गर्नेछन् ।
प्रसारण लाइन निर्माणमा अहिलेसम्म सरकारले मात्र लगानी गर्दै आएको छ । निजि क्षेत्रले प्रसारण लाइन निर्माण र विधुत व्यापारमा संलगन्न गराउन माग गर्दै आएको थियो । निजी क्षेत्रले पहिलो चरणमा सरकारी कम्पनीसँग मिलेर प्रसारण लाइन निर्माण गर्ने भएको हो ।
रेमिट हाइड्रोले ७७.५ मेगावाटको घुन्सा खोला,सिम्बुवा रेमिट हाइड्रोले ७०.३ मेघावाटको सिम्बुवा खोला, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले १६६ मेगावाटको सुपर तमोर, युनियन हाइड्रोपावरले ६० मेघावाटको अपर तमोर ए र नेपाल हाइड्रो भन्चर प्राइभेत लिमिटेले ४३ मेगावाटको तामोर खोला जलविधुत आयोजना निर्माण गर्दैछन् ।
३२ किलोमिटर लामो प्रसारण लाइन र २२०÷१३२ केभी को सब–स्टेसन बनाउन ३.८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।
निर्माणपुर्वका सबैजसो कार्य सम्पन्न भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले जनाएको छ । प्रसारण लाइनका लागि करीब ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिएको छ ।
प्रसारण लाइन निर्माणका लागि एचआईडीसीएलले ऋण लगानी गर्ने सम्बन्धमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एचआईडीसीएलवीच सम्झौता भएको छ । प्रसारण लाइन आयोजना ७४%सेयर विधुत उत्पादक कम्पनी र २६%सेयर राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव गरिएको छ ।
निजी क्षेत्रतर्फ रेमित हाइड्रोलाई १०, सिम्बुवा रेमिट हाइड्रोलाई ९, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेत लिमिटेडलाई ४२, युनियन हाइड्रोपावरलाई ८ र नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेडलाई ५ प्रतिशत सेयर प्रस्ताव गरिएको छ । प्रसारण लाइनको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको व्हीलिङ चार्ज हुनेछ ।
कम्पनीका अनुसार प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको नयाँ कम्पनीले लगानी गर्न चाहे उसलाई पनि भित्रयाइनेछ । तर नयाँ कम्पनी भित्रयाउँदा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सेयर हिस्सा भने नघटाउने भनिएको छ ।