वीरगञ्ज । सहकारी कोष दुरुपयोगको अभियोगमा विगत दुई महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत कोठामा सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि नयाँ विवाद उत्पन्न भएको छ ।
तस्बिर बुधवार राति सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपाले कडा आपत्ति जनाएको छ । लामिछानेका स्वकीय सचिवसमेत रहेका पार्टीका सहमहामन्त्री दीपक बोहराले सामाजिक सञ्जालमा लेख्दै उक्त तस्बिर कास्की प्रहरीले स्क्रिनसट गरी कसैलाई पठाएको र त्यसलाई सार्वजनिक गरेर अन्याय गरिएको आरोप लगाए ।
उनले लेखे, “अन्यायको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतिरहेको यो तस्बिर कसलाई पठाउन बनाइएको होरु र यो कति मूल्यमा सार्वजनिक गरियोरु यदि न्याय जीवित छ भने यस विषयमा अवश्य जबाफदेही बन्नुपर्छ ।”
रास्वपाका नेताहरूले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । हिरासत कक्षको सुरक्षामा रहनुपर्ने सिसिटिभी फुटेजको एक अंश बाहिरिएको विषयले गोपनीयताको उल्लङ्घन मात्र नभएर न्यायिक प्रक्रिया नै प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।
जिल्ला अदालत कास्कीले मङ्गलवार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सरकारी वकिलको कार्यालयले थप अनुसन्धानका लागि समय माग गरेको थियो, जसलाई अदालतले सदर गरेको हो । शुक्रवारभित्र लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गर्न कानुनी बाध्यता छ ।
उक्त तस्बिरले सामाजिक सञ्जालमा चर्को बहस जन्माएको छ । कतिपय प्रयोगकर्ताले तस्बिरप्रति सहानुभूति जनाउँदै रविको गोपनीयता भङ्ग भएको बताएका छन् भने केहीले तस्बिरकै वास्तविकतामाथि शङ्का गरेका छन् । केहीले रास्वपाले सहानुभूति बटुल्नकै लागि यो तस्बिर सार्वजनिक गर्न योजना बनाएको आरोप पनि लगाएका छन् ।
दुई महिनादेखि हिरासतमा रहेका लामिछानेमाथि सहकारी रकम दुरुपयोगको गम्भीर आरोप छ । कास्की अदालतको पछिल्लो आदेशपछि शुक्रवारसम्म कानुनी प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ । तस्बिर सार्वजनिक हुने क्रमले भने उनको मुद्दामा नयाँ मोड ल्याएको छ ।
पार्टीका नेताहरूले यो घटनालाई लामिछानेलाई बदनाम गर्न गरिएको षडयन्त्रको रूपमा व्याख्या गर्दै न्यायका लागि सम्बन्धित निकायहरूसँग पहल गर्ने जनाएका छन् ।