बारा । बारामा शनिबार विहान फेला परेको शव पहिचान खुलेको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै रहेको खुलेको छ ।
सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ । फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।
उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज विहान मृत भेटिएका हुन ।’
हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए ।
उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौं । सम्बन्धित सबैसंग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’
बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो ।
यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । मृतकको टाउँको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।