कास्की । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय कास्कीले ४५० पेजको अभियोगपत्र दर्ता गरिएको छ ।
ल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए । ‘अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ’ उनले भने ।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोपमा लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई, कृष्ण गुरुङ लगायत अन्य प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम हिनामिना अभियोगमा जिबी राईसहित १९ जनाविरूद्ध थप मुद्दा दर्ता गरेको थियो तीमध्ये जिबी राईविरूद्ध १० वर्षसम्म कैद सजाय र डेढ अर्ब रूपैयाँ असुलीको माग गरिएको छ तर, लामिछानेविरूद्ध तत्काल मुद्दा दर्ता गरिएको थिएन ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उनका दाजु भूपेन्द्र राई, र वर्तमान अध्यक्ष थानबहादुर बुढासहित सञ्चालक समिति र लेखा समितिका अन्य सदस्यहरू पनि प्रतिवादी छन् । यसअघि सहकारी ठगी अभियोगमा मात्रै मुद्दा दर्ता गरिएकोमा अब संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग थप गरिएको छ ।