काठमाडौं । व्यवसायी दिपक मल्होत्राले ऋण तिर्न धमाधम स्थीर सम्पत्ति बिक्री गरिरहेका छन् । घरजग्गामा ठूलो लगानी गरेका कारण नगद प्रवाहको समस्या भोगिरहेका मल्होत्राले स्थीर सम्पत्ति बिक्री गरेर ऋण तिर्ने रणनीति अपनाएका हुन् ।
केही समयअघि ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स सुशील थापाको समूहको कम्पनी साहस ऊर्जा लिमिटेडलाई २ अर्ब रुपैयाँमा बिक्री गरेका मल्होत्राले अहिले विराटनगरको जग्गा बिक्री गरेका हुन्।
विराटनगर बसपार्कको दक्षिणतर्फ रहेको आफ्नो ४१ कठ्ठा र साझेदारको ७ कठ्ठा गरी कूल ४८ कठ्ठा जग्गा १ अर्ब २५ करोड रुपैयाँमा बिक्री गरिएको मल्होत्राले बताए । आफ्नो जग्गामात्रै १ अर्ब ७ करोडमा बिक्री गरेको उनको भनाइ छ ।
रत्ना होटलसँग जोडिएको उक्त जग्गा व्यवसायी प्रकाश गोतामेले किनेका छन् । गोतामे झापाको बिर्तामोडमा किङ्सबेरी नाम गरेको पाँचतारे होटलका सञ्चालक हुन् । उनी किङ्सबेरीका अध्यक्ष हुन् ।
‘प्रिमियम मूल्यमा प्लटिङ गरेर जग्गा बेच्ने तयारी गरेको थिएँ, पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीका कारण बिक्रेता पाउन कठिन थियो । कति समय बैंकलाई ब्याजमात्रै तिरेर बस्ने भनेर जग्गा बिक्री गरेको हुँ,’ मल्होत्राले भने ‘विराटनगरको जग्गा बिक्री गरेर बैंकको ५० करोड रुपैयाँजति ऋण तिरेको छु ।’
ठूलो लगानी फसेका कारण मलहोत्रासहित उक्त जग्गामा लगानी गर्ने व्यवसायीहरु क्यास फ्लोको समस्या भोगिरहेका थिए।
‘जग्गा भनेको भूमाता हो, अफ्ठ्यारो परेको बेला जग्गाले नै बचायो,’ मल्होत्राले भने, ‘उक्त जग्गा बिक्री गरेपछि धेरै सजिलो भएको छ ।’
मलहोत्रासँगै विराटनगरका घरजग्गा व्यवसायी ध्रुव घिमिरे र इन्द्रबहादुर सिंहले स्मार्ट प्लानिङ जग्गा किनेका थिए। करिब पाँच वर्षअघि नागेश कोइरालाले उक्त जग्गा बेचेका थिए । अहिले उनी विराटनगर महानगरपालिकाको मेयर छन् ।
घरजग्गा व्यवसायीको पहिचान बनाएका मल्होत्रा आइएमएस ग्रुपका अध्यक्ष हुन् । सामसङ मोबाइलको बिक्रेता मल्होत्राको अटोमोबाइल्स, इकमर्श, होटल, जलविद्युत घरजग्गा तथा कृषि क्षेत्रमा लगानी रहेको छ । मल्होत्राको अर्बौं लगानी रहेको छ ।
साभारःक्लिकमान्डु