काठमाडौं । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुनर्निर्माण कार्य सकिएको ८ महिनापछि आजबाट सर्वसाधारणका लागि खुला गरिँदै छ ।
हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज हस्तान्तरण गर्न लागेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
आज १ बजे हुने हस्तान्तरण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेश मन्त्री र जनप्रतिनिधिको उपस्थिति रहने छ। हस्तान्तरणपछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्ने जनाएको छ । सुरुङ संचालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ ।
उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
बागमती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत जेठमा सकिएको थियो । हस्तान्तरणको प्रक्रिया नै लम्बिएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न नसकिएको हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बताइन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।
नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको बागमती प्रदेश यातायात पुर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द रहेका छन् ।
एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।
७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे ।
बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो ।