सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ अर्थात् विनिजोजित रकमको ४२।३५ प्रतिशत रकम सरकारले ऋण भुक्तानीमा खर्च गरेको हो ।
बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा मंसिर मसान्तसम्ममा कुल ऋण सेवा खर्च २.९९ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ । मंसिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड खर्च भएको छ । त्यस्तै वाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ खर्च भएको देखिएको छ । विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएकोे छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा मंसिर मसान्तसम्ममा १ खर्ब ९२ अर्ब २९ करोड ऋण प्राप्ति भएको छ । मंसिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ वाह्य ऋण प्राप्त गरेको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ३५.१५ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति ४९.७० प्रतिशत तथा बाह्य ऋण प्राप्ति १३.०४ प्रतिशत रहेको छ ।
पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ । सरकारले मंसिर महिनामा ५८ अर्ब २४ करोड ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्बले घटेको हो । मंसिर महिनामा सरकारले २१ अर्ब २३ करोड ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड तिरेको देखिन्छ ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मंसिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब रहेको थियो । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत हो । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ छ ।
गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । यसरी हरेक पछिल्ला वर्षहरुको तथ्याकं हेर्ने हो भने सार्वजनिक ऋणको आधार बढिरहेको देखिन्छ । यसअनुसार २०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । २०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण २०७५/७६ मा १० खर्ब ४८ अर्ब, २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, २०७७/७८ मा १७ खर्ब ३७ अर्ब, २०७८/७९ मा २० खर्ब १३ अर्ब, २०७९/८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको सरकारी तथ्याकंमा उल्लेख छ ।
यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले यो वर्ष कुल ५ खर्ब ४७ अर्ब बराबर ऋण लिने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ । मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड अर्थात् लक्ष्यको ३५.१५ प्रतिशत ऋण उठाइ सकेको छ ।
गएको पाँच महिनाको अवधिमा भने कुल ५८ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको छ । जसमा ३६ अर्ब ७६ करोड आन्तरिक ऋण र २१ अर्ब ५५ करोड बाह्य ऋण थपिएको हो ।