पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाही नगरेको पीडितले गुनासो गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्सामा आज जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित हरेन्द्र यादवले पुष ९ गते काटेर भित्र्याउन तयारी गरेको धान राजनीतिक पूर्वाग्रहबाट प्रेरित व्यक्तिहरुले आगजनी गरेको र उनीहरु विरुद्ध प्रहरीमा जाहेरी दिएपनि अहिलेसम्म कारवाही नगरेको बताए ।
पीडित हरेन्द्र यादवका अनुसार पुष ९ गते जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आउने कार्यक्रम नगर्न धम्की दिएको उल्लेख गर्दै उनीहरुले भनेको नमानेपछि भित्र्याउन तयारी गरेको धानमा आगजनी गरेको आरोप छ ।
आगजनीको घटनामा संलग्न रहेका वडा नं.२२ जगरनाथपुरका ३८ बर्षीय नरेश प्रसाद यादव सोही स्थान बस्ने ४५ बर्षीय उमेश साह तेली, ३० बर्षका पन्नालाल महतो कोईरी र २८ बर्षीय अनिल यादव भन्ने प्रदीप यादव विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरेपनि अहिलेसम्म कारवाही नगरेको हरिन्द्र यादवको गुनासो छ ।
आरोपित व्यक्तिहरुले उपेन्द्र यादवको कार्यक्रम हुन नदिएर बिथोल्ने उद्देश्यले एक दिन पहिले नै कार्यक्रम गर्न नदिनु यदि कार्यक्रम गर्न दिए परिणाम राम्रो हुने छैन भनेर धम्की दिएको हरिन्द्रले बताए । उनीहरुले हरिन्द्रको ह्वाट्सएपमा पटक पटक फोन गर्नुका साथै हरिन्द्रका साथी मनोज ठाकुरलाई समेत अरु नेताहरुको बारेमा उपेन्द्र यादवले टिकाटिप्पणी नगरोस भनेर सन्देश पठाएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यादवको खेतमा रहेको ११२० बटा बिटा भएको २१० क्विन्टल धानको प्रति क्विन्टल ३ हजार ५८० को दरले ७ लाख ५१ ह्जार ८ सय र परालको ४० हजार गरी कूल ७ लाख ९१ ह्जार ८ सय बराबरको क्षति पुगेकोले धानमा आगजनी गर्नेलाई कारवाही गर्न जाहेरी दरखास्त दर्ता गरेपनि अहिलेसम्म कारवाही नभएको बताए ।
आगजनी घटनाको अघिल्लो दिनसम्म कार्यक्रम गर्न नदिनु नगराउनु भन्दै धम्की दिने र घटना घटेपछि सामाजिक सञ्जालमा मिसन कम्प्लिट भनेर लेख्नुले उनीहरुकै संलग्नता रहेको दावी सहित उनीहरुमाथि किटानी जाहेरी दिएको र अहिलेसम्म कारवाही नभएको पीडितको भनाई छ । घटना जसपा नेपाल र जसपाबीचको द्वन्द्वसँग जोडिएकोे छ ।
वीरगन्ज २२ मै घर रहेको संघीय सांसद प्रदीप यादव उपेन्द्र यादवको जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा पार्टी गठन गरेपछि उपेन्द्र र प्रदीपबीच राजनीतिकद्वन्द्व चलिरहेको छ । उनीहरुबीचको राजनीतिकद्वन्द्वको शिकार भने जगरनाथपुर २२ का किसान हरेन्द्र यादव बनेका छन् । जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पर्सा प्रहरीले पीडितको न्यायको लागि काम नगरेको आरोप लगाएका छन् ।
जोहरी परेकाहरुलाई तत्काल कारवाही नगरे जसपा नेपालले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिए । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुगेलले भने घटनाको विषयमा सुक्ष्म अनुसन्धान भईरहेको बताए ।