पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौंमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो ।
यही पुस १७ देखि २१ सम्म प्रदर्शनी आयोजना हुन लागेको हो । ’चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागर शर्माले बताएका छन् । पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू हुनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहररूको जमघट हुने महासचिव विष्णुप्रसाद पौडेलले बताए । उनले भने, ’प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’
प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्रहरू र चीनको समेत महत्त्वपूर्ण सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको अवलोकन, आयात, निर्यात जस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबीच आपसी सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने अध्यक्ष शर्माले बताए । ’महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने ।
महोत्सवमा नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न विषय र क्षेत्रका विज्ञहरूबीच छलफल, बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ । प्रचार प्रसार समितिका सह संयोजक पुरोषतम दाहालले बताए । उनले प्रर्दशनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका २ हजारभन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरू आउनुका साथै एक दर्जन भन्द बढी देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागती जनाउने बताए ।