बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको दुई साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ। बिहीबार राति भएको यस घटनामा चोरले दुई कार्यालयबाट गरी १२ लाख ६५ हजार नगद चोरी गरेका छन्।
फत्तेपुर, जीतपुरसिमरा–१२ मा रहेको सहकारीबाट १२ लाख नगद र डुमरवाना, जीतपुरसिमरा–१५ मा रहेको सहकारीबाट ६५ हजार नगद चोरी भएको प्रहरीको भनाइ छ।
चोरको समूहले कार्यालयको ताला र भल्ट फोडेर नगद लुटपाट गरेको छ। साथै, चोरहरूले दुबै कार्यालयमा राखिएको सिसिटिभी क्यामराको हार्डडिस्कसमेत चोरी गरेका छन्, जसका कारण चोरीको घटनाको फुटेज उपलब्ध छैन।
प्रहरी चौकी नजिकै पनि चोरी
फत्तेपुरमा रहेको सहकारी कार्यालय प्रहरी चौकीबाट केवल ५० मिटर पूर्वतर्फ रहेको छ। प्रहरीको नजिकै भए पनि चोरहरूले १२ लाख नगद चोरेर फरार भएका छन्।
डुमरवाना र फत्तेपुरका यी दुई कार्यालय करिब दुई किलोमिटरको दूरीमा रहेका छन्, र दुबै स्थानमा भएको चोरीको शैली उस्तै रहेको जनाइएको छ।
अनुसन्धान जारी
चोरीका घटनापछि स्थानीय प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ। तर, हालसम्म घटनामा संलग्न चोरहरू पक्राउ परेका छैनन्।
सहकारी कार्यालयहरूको सुरक्षा व्यवस्थालाई लिएर स्थानीय स्तरमा प्रश्न उठ्न थालेका छन्। चोरीको यस घटनाले सहकारीको नगद व्यवस्थापन र सुरक्षा प्रणालीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।