महोत्तरीको बर्दिवास–११ खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एकै साथ विषसेवन गरेका ३ छात्रामध्ये १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका–१० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।
शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास–४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पुर्याउनु अघि उनको मृत्यु भइसकेको जानकारी दिए ।
परीक्षा बिग्रिएपछि एकै साथ उनीहरुले विष सेवन गरेका छन । बर्दीबास नगरपालिका–११ निर्मल लामा बहुप्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ प्रहरी नायव उपरीक्षक पोखरेलले भने,‘फेला परेका दुई जनाको अवस्था सामान्य छ । दुवै जनालाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ ।
शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको बताए । शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएकी सन्जुले बताइन् ।
सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाइड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताइन । बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गर्नुभएको थियो । रिङ्कुको करकापमा परेर आफूहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताइन ।
रिङ्कुले विष सेवन गरेपछि म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताइन । बर्दिवास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले घटनाको थप विवरण सङ्कलन तथा छानबिन भइरहेको बताए ।