पर्साको पर्सागढी नगरपालिका, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जीतपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित पाँच सय ६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।
‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो। नेपालमा आँखाको उपचार राम्रो हुन्छ, भनेर आएको हुँ,’ उनले भने, ‘शल्यक्रिया गरेसँगै अहिले छर्लङ्गै देख्ने भएको छु।’
भारतीय नागरिक देवानले भारतका विहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताए। ‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठेरो भएन्’ उनले भने ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताए । आँखा शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक डा. सागर रुइत, डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको उपचार गरेका थियो । प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको जानकारी दिए ।
प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको जानकारी दिए । मोतियाविन्दुको फेको प्राविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि १८ हजार रुपैयाँ खर्च लाग्ने गर्छ भने ‘एमएसआइसीएस’ प्रविधिमार्फत गर्दा कम्तीमा १० हजार खर्च लाग्ने गर्छ । शल्यक्रिया पछि बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।
पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीको लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताए। उनले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा सात सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेट्टिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रुपमा नमिलेको जानकारी दिए ।
नेपालमा सस्तो र गुणस्तरीय आँखाको उपचार हुन थालेसँगै भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यका बिरामीको उपचार गर्ने थलोको रुपमा पनि वीरगञ्जसहितका आसपासको क्षेत्र भएको छ।
तिलगङ्गा आँखा प्रतिष्ठानले सस्तो र गुणस्तरीय लेन्स उत्पादन गरेर बजारीकरण गरेसँगै भारतीय आँखाका बिरामी पनि वीरगञ्जमा उपचार गराउन आउने सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ।
वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले वीरगञ्जमा ६० प्रतिशत भारतीय नागरिक र ४० प्रतिशत स्वदेशी आँखाका बिरामी उपचार गर्न आउने बताए ।