खानेपानी मन्त्री प्रदिप यादवले कलैया उपमहानगरपालिका अन्तर्गत मानमत मटिअर्वा सडक खण्डमा त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरीसम्म ३/४ किलोमिटर लम्बाइको नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरेका छन् ।
खानेपानी मन्त्री यादवले बारा जिल्लाका हरेक घरमा शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आगामी आर्थिक वर्षमा घाम र पानीका कारण क्षतिग्रस्त भएका पानीका ट्याङ्कीहरूको मर्मत तथा नयाँ संरचना निर्माणका लागि बजेट विनियोजन गरिने जानकारी दिए । “बारा जिल्लाका सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन प्रतिबद्ध छु,” मन्त्री यादवले भने ।
मन्त्री यादवले जलवायु परिवर्तन, चुरे दोहन र जङ्गल फडानीका कारण तराईका भूमिगत पानी स्रोत सुक्दै गएको र यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले भने, “पहिले २५० फिटमा पानी आउने चापाकल अहिले ३०० फिटमा पनि सुक्न थालेको छ । यदि शुद्ध खानेपानीका लागि ठोस कदम नचालिए, तराई क्षेत्रमा पानीको हाहाकार हुन सक्छ ।” सरकार हरेक नागरिकलाई शुद्ध पानीको पहुँचमा पुर्याउन दृढ रहेको उनले स्पष्ट पारे ।
सिस्वा गाउँ र आसपासका क्षेत्रका लागि १४ करोड रुपैयाँ बजेटमा नयाँ खानेपानी आयोजना सञ्चालन गरिने उनले बताए । आयोजनाको लागि आगामी महिना टेन्डर आह्वान गरिने पनि उनले जानकारी दिए । मन्त्री यादवले आफूले खानेपानी मन्त्रालय अन्तर्गतका आयोजनाहरूलाई प्रभावकारी ढंगले सञ्चालन गरी सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने लक्ष्य रहेको प्रस्ट गरे ।
कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, नेपाल खानेपानी संस्थानका इन्जिनियर निरण महर्जन, र प्रहरी उपरीक्षक महेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।