वीरगञ्ज । वीरगञ्जस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयको ८७ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । वडा नम्बर ४ का अध्यक्ष जगत् साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, प्रशासक, अभिभावक, र विभिन्न सामुदायिक विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षाविद् राजेन्द्र प्रसाद कोराला, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्बर ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, विद्यालयका प्रधानाध्यापक नवीन मिश्र लगायतले विद्यालयको प्रगति र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
विद्यालयले आफ्नो ८७ औँ स्थापना दिवसलाई शैक्षिक विकास, विद्यार्थीको क्षमता अभिवृद्धि र सामुदायिक सहयोगका लागि प्रेरणादायी दिनका रूपमा लिएको छ । महेश दास लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको महत्त्व झन् बढाएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र अभिभावकहरूले विद्यालयको गौरवशाली इतिहासको स्मरण गर्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।