वीरगञ्ज । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा ७ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्र तिब्बतको दिङ्गी रहेको छ । भूकम्पको धक्काले वीरगञ्जसहित देशका अधिकांश भूभाग हल्लाएको छ ।
भूकम्पका कारण स्थानीय मानिस घरबाट बाहिर निस्किएका थिए । वीरगञ्जका विभिन्न क्षेत्रका मानिस सडकमा जम्मा भएको देखियो । पूर्वी नेपालमा धक्का थप तीव्र महसुस गरिएको स्थानीय समाचारदाताहरूले जनाएका छन् । नेपाल प्रहरीले भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण सङ्कलन गर्न सक्रियता सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीय स्तरमा पुगेर क्षतिको अवस्थाबारे जानकारी लिन निर्देशन दिएको छ । विशेष गरी उत्तरी क्षेत्रका प्रहरी युनिटलाई थप सतर्क रहन आग्रह गरिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु रहेको हुँदा त्यहाँ बढी सक्रियता अपनाउन निर्देशन जारी गरिएको जानकारी दिए ।
भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किलिमिटर उत्तरतर्फ र काठमाडौँबाट करिब २८० किलोमिटर पूर्वोत्तरमा रहेको छ ।
भूकम्पका धक्काहरू नेपालसहित भारत, भुटान, बङ्गलादेश, र चीनका विभिन्न भूभागमा पनि महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२०७२ सालको गोरखा भूकम्पको त्रास अझै ताजा रहेको हुँदा आजको भूकम्पले वीरगञ्जसहित अन्य क्षेत्रका मानिसलाई त्रसित बनाएको छ । हालसम्म क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
नेपाल प्रहरीले भूकम्पको अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको छ । नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।